Technology Khabar १९ भाद्र २०८१, बुधबार
काठमाडौं ।
सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर तथा टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीका फलोअरहरु हिजोदेखि घट्ने क्रम बढेको छ।
मंगलबार मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माका बारेमा एउटा स्टाटस लेखेका थिए। उक्त स्टाटसको बारेमा धेरै रिपोर्ट परेपछि फेसबुकले नै हटाएको मेयर शाहको सचिवालयले पक्का गरेको थियो।
तर मेयर शाह भने उक्त पोस्ट फेसबुकले नभई सरकारले नै हटाउन लगाएकोमा विश्वस्त थिए र त्यसै हिसाबले उनले अर्को काउन्टर स्टाटस लेखे:
‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’
शाहको अघिल्लो पोस्ट हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका फलोअरहरु यी तीनैओटा प्लेटफर्ममा बिस्तारै घट्न थाले। कसैले स्वस्फूर्त रुपमा अनफलो गरे भने धेरैले एक अर्कालाई अनफलो गर्न अनुरोध गरिएका मेसेजहरु पठाए।

एक हिसाबले सरकार र काठमाडौैं महानगरपालिकाका मेयर बालेन शाहका बीच राम्रै शीतयुद्ध चर्किएको भान भयो। यद्यपि प्रधानमन्त्री ओली, उनको सचिवालय वा कुनै पनि आधिकारिक सरकारी निकायबाट यसबारे कहिँ कतै उल्लेख वा टिप्पणी गरिएको पाइएको छैन।
बरु देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुमध्ये आ आफ्ना आस्था अनुसार सरकारको पक्षमा र मेयर शाहको विपक्षमा साथै मेयर शाहको पक्षमार सरकारको विपक्षमा स्टाटस तथा पोस्टहरु राखिरहेका छन्।
केही केहीले भने हिजोदेखि नै प्रधानमन्त्री ओलीलाई अनफलो गरौं भन्ने खालको अभियान चलेको र आफूलाई पनि त्यसै हिसाबको मेसेज आएको पनि उल्लेख गरेका छन्।

केहीले भने मंगलबार बेलुका नै ६७५K देखि ६२२K सम्मको यात्राका लागि बधाई भन्ने खालको पोस्ट राखेका थिए। यतिखेरसम्म हेर्दा प्रधानमन्त्री ओलीको आधिकारिक फेसबुक पेजमा फलोअर घटेर ५ लाख ९३ हजारमा आइपुगेका देखिन्छ।

यसैगरी ट्विटरमा ८ लाख ५७ हजार ७६१, टिकटकमा १ लाख ७८ हजार ३ सय फलोअरमा झरेको देखिएको छ।
यस्ता स्टाटसहरु बालेन शाहको पक्षमा र प्रधानमन्त्री ओली वा सरकारको विपक्षमा एकतर्फी मात्र छैन। एक पत्रकारले फेसबुकमा यस प्रकारको स्टाटस पनि राखेका छन्।
![]()
प्रकाशित: १९ भाद्र २०८१, बुधबार