सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग
काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा सांसद शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन्।
उनले एक विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन्।
मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
सोही विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन्।
‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्सर्ना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
सोमबार राससको नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले पोखराको एक पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको जिकिर गरेका थिए। सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा राखेकोसमेत उनले बताएका थिए।