Technology Khabar १६ भाद्र २०८१, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडको अनुमति पत्रको तेस्रो पटकको नवीकरण ५ वर्षका लागि गरिदिएको छ।
कम्पनीको नवीकरण र दस्तुर सम्बन्धि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले निजी दूरसञ्चार सेवा प्रदायक एनसेललाई चार किस्तामा तिर्ने सुबिधा दिने निर्णय गरेसँगै आज नियामकले किस्तामा रकम तिर्ने सुबिधाका साथै इजाजतपत्र नवीकरण गरिदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए।
“कम्पनीले पहिलो किस्ता बापत ५ अर्ब रुपैयाँ तिरेको हुँदा बाँकी ३ किस्तामा ५/५ अर्ब तिर्नेगरी प्राधिकरणले भदौ १६ गते नवीकरण पत्र दिएको छ,” उनले बताए।
कम्पनीले यसअघिनै नवीकरण दस्तुरका लागि भनेर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई ५ अर्ब रुपैयाँ बुझाईसकेको छ। कम्पनीले ४ अर्ब तीन महिनाको अवधि अगाडिनै तिरेकोमा आज एनसेलले थप १ अर्ब रुपैयाँ (करसहित) नियामकलाई बुझाएको छ।
अब बाँकी १५ अर्ब रुपैयाँ तीन किस्तामा भुक्तानी गर्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।
बाँकी १५ अर्ब रुपैयाँ रकम प्रत्येक वर्ष ५ अर्ब रुपैयाँको दरले तिर्नुपर्ने छ भने एनसेलले प्रत्येक वर्ष बाँकी रकममा थप १० प्रतिशत ब्याज दस्तुर तिर्नुपर्ने छ।
यसका साथै एनसेलले चाहेको खण्डमा किस्तारकम समय भन्दा अगाडिनै सरकारलाई तिर्न सक्नेछ।
प्रकाशित: १६ भाद्र २०८१, आईतवार