Technology Khabar ११ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
स्कटल्याण्डमा वैज्ञानिकहरुले मानिसहरुमा डिमेन्सिया रोग छ कि छैन भन्ने पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने भएका छन्। उनीहरुले यो कामका लागि स्कटल्याण्ड भरिबाट १६ लाख जना बिरामीको मष्तिष्कको स्क्यान गरेर डाटा संकलन गरेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर ती सबै स्क्यानहरुलाई परीक्षण गरी उनीहरुमा डिमेन्सियाको कुनै लक्षण वा जोखिम छ कि छैन भन्ने पत्ता लगाइने अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ।
एडिनबरा तथा डुण्डी विश्वविद्यालयका २० अनुसन्धाताहरुलाई यो दशकमा गरिएका १६ लाख जनाको मस्तिस्को परीक्षण गरेर डिमेन्सिया रोगको जोखिम वा लक्षण भए नभएको पत्ता लगाउन इजाजत दिइएको हो। बेलयतकै इतिहासमा यति ठूलो परिमाणमा यस प्रकारको महत्वपूर्ण डाटामा पहुँच दिइएको यो पहिलोपटक हो।

सामान्यतया डिमेन्सियालाई मस्तिष्कमा उपलब्ध विविध प्रकारको प्रोटिनको बनावटको तौरतरिकाका माध्यमबाट पहिचान गरिन्छ। डिमेन्सियाले मस्तिष्कको तन्तु नष्ट गरेर बिरामीको संज्ञानात्मक दक्षता बिस्तारै क्षीण बनाउँदै लैजान्छ। डिमेन्सिया लाग्नुभन्दा थुप्रै वर्षअगाडि नै मस्तिष्कमा रहेको तन्तु तथा कोषमा विभिन्न प्रकारको परिवर्तन आउन थाल्ने समाचारमा उल्लेख गरिएको छ।
यति ठूलो परिमाणको मस्तिष्कको स्क्यान अध्ययनपछि डिमेन्सियाको जोखिमबारे शुरुमै पत्ता लगाउन रेडियोलोजिस्टहरुलाई सघाउने खालको उपकरण निर्माण गर्न सकिने ती अनुसन्धाताहरुले अपेक्षा गरेका छन्।
यसरी यति धेरै जनाको स्क्यान अध्ययन गर्ने इजाजत दिने निर्णय एनएचएस स्कटल्याण्डको स्वास्थ्या र सामाजिक हेरचाहका लागि सार्वजनिक हित तथा गोपनीयता समूहले लिएको थियो।
अनुसन्धाताले कुन बिरामीको स्क्यान परीक्षण गरिरहेको छु भन्ने थाहा नदिनका लागि यी सबै स्क्यानहरुको परिचय गोप्य राखिनेछ।
पूर्व पत्रकार विली गिल्डरलाई तीन वर्षअघि अल्जाइमर भएको पत्ता लाग्यो। उनले भने, “यदि तपाईंलाई जोखिम छ भन्ने थाहा छ भने, तपाईं आफ्नो मस्तिष्कको स्वास्थ्य सुधार गर्न परिवर्तनहरू गर्न सक्नुहुन्छ।”
एडिनबरा निवासी ७१ वर्षीय गिल्डर भन्छन्, “मलाई प्रारम्भिक चरणमा नै अल्जाइमर भएको पत्ता लागेकोले मानसिक रूपमा सक्रिय रहनु मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक छ भन्ने म थाहा पाउँछु। अल्जाइमरको लागि केही नयाँ उपचारहरू पनि आउने क्रममा छन्, जसले रोगको प्रारम्भिक चरणमा मात्र काम गर्छन्। त्यसैले प्रारम्भिक पत्ता लगाउने प्रक्रिया महत्वपूर्ण छ।”

“स्क्यान-ड्यान” (डिमेन्सिया र न्यूरोडिजनरेटिभ रोगको भविष्यवाणी गर्न स्कटिश एआई न्यूरोइमेजिङ) नामको यो नयाँ अनुसन्धान परियोजना ग्लोबल अनुसन्धान सहयोग “NEURii” को एउटा पाटो हो।
डुन्डी विश्वविद्यालयका एआई र मेडिकल इमेजिङका विशेषज्ञ प्रोफेसर इम्यानुएल ट्रुकोले भने, “स्कटल्याण्ड र यूके क्लिनिकल डाटामा अनुसन्धानको नेतृत्वमा छन्। यो नयाँ डाटा सेट स्नायुसम्बन्धी अनुसन्धानकर्ताहरूको लागि धेरै उयोगी हुनेछ।”
प्रोफेसर ट्रुकोले भने, “हामीले के खोज्दैछौं भन्ने कुरा ठीकसँग थाहा छैन, तर यति ठूलो संख्यामा मस्तिष्कको स्क्यानहरू भएकाले, हामी डिमेन्सियासँग सम्बन्धित ढाँचाहरू पहिचान गर्न सक्षम हुनेछौं।”
“त्यसैले, यदि हामी तपाईंको मस्तिष्कको स्क्यान हेर्छौं भने, सुरुमा ठ्याक्कै के देख्दैछौं भन्ने कुरा थाहा नभए पनि, म तपाईंलाई जोखिममा रहेको भविष्यवाणी गर्न सक्छु,” उनले भने। टोलीले यस प्रविधिको सम्भाव्यताको राम्रो बुझाइ अर्को वर्षको शुरुमा हुने तर यसलाई व्यवहारमा ल्याउन केही वर्ष लाग्न सक्ने समूहको भनाई छ।
यो परियोजनामा सह-नेतृत्वकर्ता एडिनबरा विश्वविद्यालयको क्लिनिकल ब्रेन साइन्सेज केन्द्रका प्रोफेसर विल व्हाइटलीले भने, “हालका लागि डिमेन्सियाका उपचारहरू महँगो, दुर्लभ र अनिश्चित छन्। हामीले उच्च जोखिममा रहेका धेरै मानिसहरूबाट सहमतिसहितको डाटा संकलन गर्न सकेमा साँच्चै नयाँ उपचारहरू विकास गर्न सक्छौं।
यी स्क्यानहरु प्रयोग गर्नका लागि धेरै अनुमति आवश्यक रहेको बताउँदै उनले पब्लिक हेल्थ स्कटल्याण्डसँग गोपनीयता र कानूनी व्यवस्था अवलम्बन गर्नका लागि प्रक्रिया पूरा गरेकाे जानकारी दिए।
प्रकाशित: ११ भाद्र २०८१, मंगलवार