सरकारले प्रतिबन्ध हटाएकोमा टिकटकले स्वागत गर्दै भन्यो- नेपालीहरूको उन्मुक्त आवाज बन्नेछौं

Technology Khabar ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

सरकारले छोटो भिडियो एप टिकटक माथिको प्रतिबन्ध हटाएकोमा प्लेटफर्मले स्वागत गरेको छ।

बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बसेर सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध सशर्त फुकुवा गरेको हो। यस बारेमा टिकटकका प्रवक्ताले खुशी व्यक्त गर्दै नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मंचलाई निरन्तरता दिन पाउँदा उत्साहित भएको बताएका छन्।

टिकटकका एक प्रवक्ताले भने, “नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि वहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं।”

यसैगरी उनले कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको संचार गर्नुका साथै अविश्वसनीय रूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको बताएका छन्।

“हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मंचलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं किनकि हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं।” टिकटकका एक प्रवक्ताले भने।

प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया