Technology Khabar ६ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
डडेलधुरा स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको महसुल बुझ्ने अनलाइन (सेन्ट्रल सर्भर) सिस्टम बिग्रँदा विद्युत महसुल बुझ्ने काम स्थगित गरिएको छ। करिब ९४ प्रतिशत विद्युतीकरण भएको यस जिल्लाका ग्राहकले नियमित शुल्क तिर्ने गरेका छन्।
आइतबारदेखि महसुल बुझ्ने काम स्थगित गरिएको कार्यालय प्रमुख रमेश अवस्थीले बताए। उनका अनुसार डाउन भएको सर्भर बनाउन काठमाडौँ पठाइएको छ। महसुल बुझ्न अनलाइन सर्भरका लागि सिपियु उपकरण आवश्यक हुन्छ। सो उपकरण मर्मत गर्न काठमाडौँ पठाइएको जानकारी अवस्थीले दिए।
आइतबारदेखि पुनः सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ। सर्भर बिग्रँदाको समयमा महसुल बुझाउन हुनेढिलाइका कारण ग्राहकलाई जरिबाना नगरिने उनले बताए।
डडेलधुरामा १६ हजार पाँच सय ग्राहक रहेका छन्। करिब आठ हजार ग्राहक भित्री मधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका र आलीताल गाउँमा रहेका छन्।
प्राधिकरण केन्द्रको तथ्याङ्क अनुसार डडेलधुरामा ९४.०८ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको छ । परशुराम नगरपालिका–१, २ र ११, आलीताल गाउँपालिका–१ का केही बस्ती र भागेश्वर गाउँपालिका–१ मा विद्युतीकरण हुन बाँकी छ। गोरखापत्रबाट
प्रकाशित: ६ भाद्र २०८१, बिहीबार