Technology Khabar ४ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
सोमबार एकाबिहानै इटलीको सिसिली भन्ने ठाउँमा भएको निजी डुंगा (यट) दुर्घटनामा हराइरहेकाहरुको खोजी अहिले पनि जारी छ। सोमबार बिहान खराब मौसमका कारण सिसिलीको समुद्रमा डुबेको उक्त निजी डुंगामा बेलायतका टेक टाइकून माइक लिञ्चसहित ६ जना हराइरहेका छन्।
१० जना चालक दलका सदस्य र बाँकी १२ जना यात्रु
अन्तर्राष्ट्रिय समाचार संस्थाहरु बीबीसी तथा द इन्डिपेन्डेन्टले उल्लेख गरे अनुसार जम्मा २२ जना रहेको उक्त डुंगा दुर्घटनास्थलबाट १५ जनालाई नजिकैबाट हिँडिरहेको डुंगामा रहेकाहरुले जीवितै उद्धार गरेका थिए। २२ जनामा १० जना चालक दलका सदस्य र बाँकी १२ जना यात्रु रहेका स्थानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
हालसम्म एक जनाको शव भेटिएको र बाँकी ६ जनाभने अझै बेपत्ता रहेको जनाइएको छ। शवको पहिचान भने हुन नसकेको समाचारमा जनाइएको छ। तर पालेर्मोका कोस्टगार्डका अनुसार उक्त शव जहाजका कूकको रहेको छ। यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
को को हराइरहेका छन्?
हराइरहेका हरुमा बेलायतका प्रविधि क्षेत्रका टाइकून अर्थात् दिग्गजका रुपमा चिनिएका माइक लिञ्च, उनकी १८ वर्षीया छोरी हान्ना, मोर्गन स्ट्यान्ले इन्टरनेशनल बैंकका अध्यक्ष जोनाथन ब्लूमर र उनकी श्रीमती जुडी तथा क्लिफ्फोर्ड चान्सका वकिल क्रिस मोर्भिलो रहेका बताइएको छ। हराइरहेकामध्ये ४ जना बेलायती र २ जना अमेरिकी भएको उल्लेख गरिएको छ।

यो खोजी कार्य अहिले पनि जारी रहेको र डुबेको डुंगा भेटिए पनि क्याबिनका ढोकाहरुमा फर्निचरहरुले छेकिएका कारण उद्धारकर्ताहरु क्याबिनभित्र छिर्न सकेका छैनन्।
बीबीसीका अनुसार ५६ मिटर लामो बेसियन नामक उक्त डुंगा इटलीको पालेर्मो नजिकैरहेको पोर्टिसेलोको किनारनजिक स्थानीय समयअनुसार बिहान ५ बज्ने बेलातिर दुर्घटनामा परेको थियो । उक्त समयमा त्यहाँ भयंकर समुद्री आँधी चलेको थियो।
लिञ्चकी श्रीमती एञ्जेला बाकारेसको जीवितै उद्धार
हालसम्म उद्धार गरिएकाहरुमा लिञ्चकी श्रीमती एञ्जेला बाकारेस पनि रहेको र तीमध्ये एक वर्षको शिशुसहित ८ जनालाई अस्पताल लगिएको थियो।
समाचार अनुसार लिञ्चले हालै धोखाधडी गरेको भन्दै अमेरिकामा परेको आफूमाथिको मुद्दामा कानुनी जित हासिल गरेको खुशीयाली मनाउन आफ्ना वकिल र साथीभाईलाई निमन्त्रणा गरेर उक्त डुंगामा लिएर गएका थिए।
बेलायतको समुद्री दुर्घटना जाँच शाखाले उनीहरु दुर्घटनाको प्रारम्भिक अध्ययनका लागि सिसिलीका लागि प्रस्थान गर्ने जनाएको छ।
को हुन् लिञ्च?
बेलायतका सफ्टवेयर करोडपतिका रुपमा चिनिने माइक लिञ्च वैश्विक प्रविधि कम्पनी खडा गर्ने बेलायतका व्यवसायीहरुमध्येका उदाहरणीय व्यक्ति मानिन्छन्। उनलाई बेलायती बिल गेट्स पनि भन्ने गरिएको पाइएको छ।
३ महिनाअघि ५९ वर्षीय लिञ्च अमेरिकामा भोगिरहेको धोखाधडीको मुद्दामा सफाइ पाएका थिए। उक्त मुद्दा उनले आफ्नो कम्पनी अटोनोमी सन् २०११ मा सिलिकन भ्यालीको टेक जायन्ट ह्यलट पक्कार्डलाई ११.१ अर्ब डलरमा बेचेको सम्बन्धमा परेको थियो।
यदी यसमा दोषी पाइएको भए उनलाई आमरण जेल हाल्न सकिने थियो। उनले एचपीलाई कम्पनी बेचेलगत्तै कम्पनीलाई ४ अर्ब डलर घाटा लागेको र त्यसको मुख्य कारण लिञ्चले धोखाधडीपूर्ण रुपमा आफ्नो कम्पनीको व्यापार तथा अन्य सूचक अब्बल रहेको देखाएको भन्नेलाई लिइएको थियो।
तर गत जुलाईमा उनले उक्त मुद्दामा सफाई पाएपछि त्यसै खुशियाली साट्न उनले साथीहरुसहित वकिललाई पनि बोलाएर इटली भ्रमणमा रहँदा समुद्री आँधी आएर जहाज दुर्घटना भएको थियो।
फोक्सोलगायत विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त उनलाई उक्त मुद्दाले जेलमै सडाएर मार्ने हो कि भन्ने पिरले सताइरहेकोमा गत जुलाईको फैसलाले जीवनदान पाएका थिए।
प्रकाशित: ४ भाद्र २०८१, मंगलवार