राष्ट्रिय परिचयपत्रबाटै स्मार्ट लाइसेन्सको विद्युतीय प्रति हेर्न सकिने व्यवस्था मिलाउँदै भौतिक मन्त्रालय

Technology Khabar ३ भाद्र २०८१, सोमबार

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा पूरा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले एक महिनामा भए गरेका कामको प्रगति र आगामी दिनको कार्ययोजना सार्वजनिक गरेका हुन्।

सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने प्रयोजनका लागि गत साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको मन्त्रीको प्रगति प्रतिवेदनमा उल्लेख छ।

मन्त्री दाहालले सवारीचालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी राष्ट्रिय परिचयपत्रबाट पनि सवारीचालक अनुमतिपत्रको विद्युतीय प्रति हेर्न सकिने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिए।

त्यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबिच समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए। सवारीचालक अनुमतिपत्र छपाइको काम प्रदेशलाई पनि दिइने बताए।

उनले छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाइ गरेर वितरण गर्ने व्यवस्था मिलाइने र चालकले अनुमतिपत्र नपाउन्जेलसम्मका लागि प्रयोग गर्ने रसिदलाई गुणस्तरीय बनाउने बताए। उनले भने, “प्रदेश मातहतका यातायात कार्यालयबाट जारी हुने राजस्व रसिदलाई ‘ हार्ड पेपर’ मा कार्डका रूपमा स्तरीकरण गरी रसिदमा नै ‘क्युआर कोड’ र तस्बिरसमेत अङ्कित हुने गरी रसिद उपलब्ध गराउने व्यवस्था गर्ने काम भइरहेको छ।”

इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिइएको, क्युआर कोडसहितको सवारीचालक अनुमतिपत्र छपाईका लागि खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको, सवारी दर्ता प्रणालीलाई डिजिटलाइज्ड गर्दै लगिएकोलगायतका विषय समीक्षा प्रतिवेदनमा राखिएका छन्।

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया