क्युआर कोडमार्फत् हुने कारोबार एक महिनामा ७ अर्ब ८५ करोड रुपैयाँले बढ्यो

Technology Khabar ३ भाद्र २०८१, सोमबार

क्युआर कोडमार्फत् हुने कारोबार एक महिनामा ७ अर्ब ८५ करोड रुपैयाँले बढ्यो
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा क्युआर कोडमार्फत हुने भुक्तानी रकम तथा कारोबार एक महिनामा उल्लेख्य सङ्ख्या बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारको मासिक भुक्तानी प्रणाली सूचकमा क्युआर कोडमार्फत हुने भुक्तानी कारोबारको रकम तथा सङ्ख्या दुवैमा उल्लेख्य वृद्धि भएको पाइएको हो।

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारमा क्युआर कोडमार्फत ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् २०८१ जेठमा ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ रहेको थियो।

यसरी हेर्दा अघिल्लो महिना जेठको तुलनामा असार महिनामा क्युआर कोडमार्फत हुने कारोबार ७ अर्ब ८५ करोड ६० लाख रुपैयाँले बढेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा असारमा क्युआर कोडमार्फत २ करोड ८ लाख २५ हजार ६१५ पटक कारोबार भएको पाइएको छ।अघिल्लो महिना अर्थात् जेठमा क्युआर कोडमार्फत् १ करोड ९८ लाख २० हजार २२० पटक कारोबार भएको थियो।

तुलनात्मक रुपमा हेर्दा जेठ मसान्तदेखि असार मसान्तसम्मको एक महिनाको अवधिमा नेपालमा क्युआर कोडमार्फत हुने कारोबार सङ्ख्यामा १० लाख ५ हजार ३९५ ले बढोत्तरी भएको विवरणमा उल्लेख छ।

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया