युवा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न नास्टले १२ लाख रुपैयाँसम्म सघाउने, प्रस्ताव पेस गर्न आह्वान

  • Technology Khabar | २ भाद्र २०८१, आईतवार
युवा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न नास्टले १२ लाख रुपैयाँसम्म सघाउने, प्रस्ताव पेस गर्न आह्वान

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले युवा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न आर्थिक सहयोग गर्ने भएको छ। प्रतिष्ठानले आज एउटा सार्वजनिक सूचना प्रकाशन गर्दै युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

‘यस प्रज्ञा प्रतिष्ठानबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिन कार्यालय समयभित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव प्रतिष्ठानको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा पेस गर्नु हुन आह्वान गरिएको छ’, सूचनामा उल्लेख छ।

यो कार्यक्रममा भाग लिनका लागि सूचनाको अन्तिम म्यादसम्म ४० वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।

अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति/समूहगतको अनुसन्धानका लागि रू. ५ लाख, संस्थागतको लागि रु. १० लाख र बहु विधागतको लागि रु. १२ लाखसम्म रहेको छ।

यस अन्तर्गत माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि रू. ५० हजार र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि रू १ लाख तथा वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनका लागि रू. १ लाखसम्म अधिकतम बजेट सीमा रहेको प्रतिष्ठानले जनाएको छ।

यसबाहेका सूचनामा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुसन्धान अनुदान प्रदान गरिने पनि जानकारी गराइएको छ।

विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्ने बताइएको छ।

अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपिका अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्ने प्रावधान राखिएको छ। अन्य ब्यहोरा कार्यक्रमको कार्यविधिमा उल्लेख भए बमोजिम हुने पनि प्रस्ट पारिएको छ।

रीतपूर्वक पेस नभएका वा म्याद नाघि आएका प्रस्तावहरू उपर कुनै कारबाही नगरिने सूचनामा उल्लेख छ।

प्रतिष्ठानले यस सम्बन्धी विस्तृत जानकारी लिन चाहनेहरुका लागि प्रतिष्ठानको वेवसाइट www.nast.gov.np मा राखिएको कार्यक्रमको | कार्यविधि हेर्ने व्यवस्था पनि मिलाएको छ।

यसबाहेक [email protected] मा ईमेल गरेर वा  ५२५३६१९ मा फोन सम्पर्क गरेर समेत बुझ्न सकिने बताएको छ।

प्रकाशित: २ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...