Technology Khabar ३ भाद्र २०८१, सोमबार
काठमाडौं ।
अमेरिकाको सान फ्रान्सिस्कोको स्थानीय सरकारले महिला/केटीहरुको नग्न डीपफेक बनाउने वेबसाइटहरुमाथि नियन्त्रण गर्ने हेतुले निगरानी गरिरहेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजका अनुसार यसरी सजाय हुने व्यवस्था भए पनि यस्ता आर्टिफिसियल इन्टेलिजेन्स टूलहरु अहिले पनि इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छन् जसले कुनै निश्चित वेबसाइटमा फोटो उपलोड गरेको केही सेकेन्डमै उक्त तस्बिरलाई नङ्ग्याइदिन सक्छन्।
एक वर्षअघि दक्षिणी स्पेनमा स्थीय एक विद्यालय पढ्ने किशोरीको एआईद्वारा निर्मित नग्न फोटोका कारण एउटा सिंगै समुदाय नै विस्थापित हुन पुगेको थियो भने सोही घटनाका सम्बन्धमा हालै त्यहाँको नाबलकहरुको मुद्दा हेर्ने अदालतले उनकै कक्षाका १५ जना विद्यार्थीलाई १ वर्ष अदालतको निगरानीमा राखेको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यले यो र यस्तै प्रकारका वेबसाइटहरु बन्द गराउन शुरु गरेको छ भने हालै सान फ्रान्सिस्कोमा यसै प्रकारको पहिलो मुद्दा परेको छ। यो मुद्दालाई विज्ञहरुले एउटा बलियो नजीरका रुपमा स्थापित हुने तर यसमा अड्चन पनि निकै आउन सक्ने बताएका छन्।
‘फोटोहरुलाई तोडमोड गर्ने यस प्रकारको गतिविधिले विश्वभरका अनगिन्ती महिला तथा किशोरीहरुलाई शोषण गरेको छ’, सान फ्रान्सिस्को शहरका निर्वाचित न्यायाधिकारी डेभिड चिउले भने।
चिउ तिनै व्यक्ति हुन् जसले क्यालिफोर्निया, न्यू मेक्सिको, इस्टोनिया, सर्बिया तथा बेलायतलगायत जहाँकहीँबाट सबैभन्दा बढी भिजिट गरिने यस प्रकारका वेबसाइटहरुका बारेमा खुलासा गरेका थिए।
‘यी तस्बिरहरु महिला तथा युवतीहरुलाई जिस्काउन, बेइज्जत गर्न तथा धम्क्याउनका लागि प्रयोग हुँदै आएका छन्’, चिउले एपीसँगको एक अन्तर्वार्ताका क्रममा थपे, ‘र पीडितहरुमा यसको प्रभाव निकै भयावह हुने गरेको छ जसका कारण उनीहरुको मर्यादा आँच आउने, मानसिक स्वास्थ्य बिग्रने, गोपनीयता र स्वायत्तता भंग हुने र कुनै कुनै घटनामा त पीडितले आत्महत्या नै गरेको पाइएको छ।’
प्रकाशित: ३ भाद्र २०८१, सोमबार