Technology Khabar १ भाद्र २०८१, शनिबार
काठमाडौं ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ।
गएको बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइयो।
चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिए। ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन्।’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएको बताउँदै अध्यक्ष खत्रीले भने।
साथै, उनले योग्य विद्यार्थीहरू पैसाका अभावका कारणले इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्यो विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने बताउँदै विद्यार्थीहरूबाट उठेको शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने भएकाले अन्य कलेजहरूको तुलनामा कम रहेको बताए।
पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिए।
कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उनको भनाइ छ।
कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले तत्कालिन चाँगुनारायण गाविसले कलेज सञ्चालनका लागि १७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएकोले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको र कलेज गैरनाफामुलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको, शुल्क कम गरिएको बताए।
पुल्चोक भन्दा प्राइम कलेज भएको भन्दै उनले कम शुल्क लिएर पनि कलेजले क्वालिटी एजुकेशन दिइरहेको दावी गरे। ‘विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सीप सिक्ने विषयहरू पनि हामीले दिएका छौं । पुल्चोक कलेजको विकल्पको रूपमा कलेज स्थापना भएको हो।’ प्राचार्य भण्डारीले भने।
विश्वब्यापी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सोही अनुसार कलेजमा पाठ्यक्रमहरू रहेको, १२३ जना फुल टाइम फ्याकल्टी व्यवस्थापन गरिएको, अधिकतम प्रयोगात्मक शिक्षण विधि अपनाइने गरिएको प्राचार्य भण्डारीले उल्लेख गरे।
कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले क्वालिटी एजुकेशनमा कुनै सम्झौता नगरेको बताए।
चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययनरअध्यापन हुँदै आएको छ।
कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट), सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट) कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट), सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ भने बी. आर्किटेक्टमा ४८ सिट रहेको छ।
स्नातकोत्तर तहतर्फ भने कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टसम्बन्धी अध्यापन हुँदै आएको छ।
कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजसँग करिब २०० रोपनी जग्गामा पूर्वाधार छ।
प्रकाशित: १ भाद्र २०८१, शनिबार