Technology Khabar २८ श्रावण २०८१, सोमबार
काठमाडौं ।
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको केहि समयअघि अवरुद्ध भएको सेवा पूर्णरुपमा संचालनमा आएको छ।
कम्पनीको अप्टिकल फाइबर केबल नेपाल विद्युत प्राधिकरणले काटिदिँदा सेवा पुर्णरुपमा ठप्प भएको थियो। उक्त काटिएको फाइबर अहिले एनसेलले आफैंले जोडेसँगै सेवा पुन संचालनमा आएको हो।
पोखरा र दमौलीको बीचमा रहेकोपोल सार्ने क्रममा नेपाल विद्युत् प्राधिकरणले अप्टिकल फाइबर काटिदिएपछि कम्पनीको सेवा अवरुद्ध भएको थियो।
सोमबार दिउँसो करिब पौने चार बजेदेखि अवरुद्ध भएको सेवा हाल सञ्चालनमा आइसकेको एनसेलले जनाएको छ।
कम्पनीकाअनुसार आफ्नो प्राथमिक फाइबरका साथसाथै सेकेन्डरी वा दोस्रो फाइबर कनेक्सन समेत विद्युत प्राधिकरणले पोल सार्ने क्रममा काटिदिएको थियो। जसले गर्दा कम्पनीका ललितपुरमा रहेको र पोखरामा रहेको डाटा सेन्टरहरुसमेत चल्न सकेका थिएनन्।
यसअघि पनि सडक खन्ने क्रममा अप्टिकल फाइबर हचुवाको भरमा काटिँदा नेपाल टेलिकमका साथै एनसेलको सेवा पटक पटक अवरुद्ध हुँदै आएका छन्।
यसको लागि युटिलिटी करिडोर तथा पूर्वाधार कम्पनीको बारेमा छलफल चलिरहेपनि कुनै पहल भएको छैन्। जसले गर्दा दूरसञ्चार सेवाग्राहीहरुले सास्ती भोग्दै आएका छन्।
“कहिले विद्युतले पोल सार्दा तार काटिदिने कहिले सडकले खन्दा तार काटिदिने समस्या समाधान गर्न एकीकृत विकासको अवधारणा चाहिन्छ। यसलाई युटिलिटी करिडोर आवश्यक पर्नेछ,” एक जानकारले भने, “दूरसञ्चार पूर्वाधार महत्वपूर्ण पूर्वाधार भएपनि हेलचेक्र्याईँ गर्दा सेवा प्रदायकदेखि सेवाग्राहीहरु सबैजना समस्यामा पर्दै आएका छन्।”
प्रकाशित: २८ श्रावण २०८१, सोमबार