Technology Khabar २८ श्रावण २०८१, सोमबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले विभिन्न माग राख्दै गरिरहेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । गत साउन २४ गते दूरसञ्चार प्राधिकरण व्यवस्थापन र स्वतन्त्र कर्मचारी युनियनबीच कार्यालय वातावरण सुधारका लागि ८ बुँदे सम्झौता भएपछि उक्त आन्दोलन तत्कालका लागि स्थगित भएको हो।
सम्झौता भएका बुँदाहरु यसप्रकार छन्:
#नेपाल दूरसञ्चार प्राधिकरणको आफ्नै स्वामित्वको घर/जग्गा तथा भवन निर्माणका सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार खुमलटार स्थित रेडियो नेपालको जग्गा प्राधिकरणको नाममा हस्तान्तरण गर्न रेडियो नेपाललाई पत्र मार्फत जानकारी गराउने । यदि उक्त समयमा जग्गा प्राप्त नहुने देखिएमा प्राधिकरणले वैकल्पिक जग्गा खरिदको लागि प्रक्रिया अगाडी बढाउने ।
#यसका लागि रेडियो नेपाललाई १ महिनाभित्र जग्गा हस्तान्तरणको प्रक्रिया टुंगोमा पुर्याउने, उक्त समयावधिमा हस्तान्तरण नभएमा वैकल्पिक व्यवस्थाको लागि ३ महिनाभित्र जग्गा प्राप्त हुने गरी पहल गर्ने समझदारी भएको छ।
#यसैगरी प्राधिकरणको कर्मचारीहरुको कार्यकक्षमा अक्सिजनको प्रवाह तथा कार्यवातावरण व्यवस्थित गर्ने बुँदामा पनि सहमति जुटेको छ। यसका लागि प्राधिकरणको चालु आ.व. २०८१/८२ को बजेट स्वीकृत भएको १५ दिन भित्र काम शुरु गरी ४५ दिनभित्र सम्पन्न गरिने भएको छ।
#नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारीहरुको (सेवाका शर्त सम्बन्धी) विनियमावली, २०७६ को समय सापेक्ष परिमार्जन तथा संशोधन गरी सहमतिका लागि मन्त्रालयमा सिफारिश गर्ने सम्बन्धमा १ महिनाभित्र मन्त्रालयमा सहमतिका लागि सिफारिश तथा ३ महिना भित्र सहमति प्राप्त गर्न पहल गरिनेछ।
#नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारीहरुको अनिवार्य भ्रमण बिदा सम्बन्धी कार्यविधि, २०७८ लाई समय सापेक्ष संशोधन गरी लागू गर्ने सम्बन्धमा १५ दिन भित्र निर्णयको लागि प्राधिकरणमा पेश गरिने सहमति भएको छ।
#प्राधिकरणमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिको प्राधिकरणको लागि तालिम प्रदान गर्ने सम्बन्धमा प्राधिकरणको चालु आ.व. २०८१/८२ को बजेट स्वीकृत भएको १ महिनाभित्र तालिम प्रदान गर्न शुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइने भएको छ।
#प्राधिकरणको संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गर्न गठित समितबाट छिट्टै प्रतिवेदन प्राप्त गर्न आवश्यक पहल गर्ने सम्बन्धमा प्रतिवेदन प्राप्त हुनासाथ यथाशीघ्र अगाडि बढाइनेछ।
#प्रतिवेदन पदपूर्तिका सम्बन्धमा सम्मानित अदालतबाट भएको निर्णयको पूर्ण पाठ अध्ययन गरी र गराई प्रक्रिया अगाडि बढाइने सम्बन्धमा १ महिनाभित्र अध्ययन प्रतिवेदन प्राप्त गरी सोहि बमोजिम यथाशिघ्र अघि बढाइने भएको छ।
#नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले घोषणा गरेको सम्पूर्ण कार्यक्रमहरु तत्काल अर्थात् २०८१ साउन २४ गतेबाट स्थगन गर्ने सहमति भएको छ।
उक्त सम्झौतापत्रमा नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनका तर्फबाट अध्यक्ष भुपेन्द्र भण्डारी, निर्देशक तथा वार्ताटोलीका संयोजक अम्बर स्थापित तथा निर्देशक तथा वार्ताटोलीको सदस्य अर्जुन घिमिरेले हस्ताक्षर गरेका थिए।
यसैगरी नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका तर्फबाट अध्यक्ष शिवराज जैसी, उपाध्यक्ष सोनु केसी, सचिव राजु रिजाल, कोषाध्यक्ष मनोज पौडेल तथा सदस्यहरु सागर कुमार भट्टराई, निरु कुमारी लेखक र राधेश्याम मल्लले हस्ताक्षर गरेका थिए।
यसअघि यिनै मागहरु पूरा गर्न कर्मचारी युनियले असार ३० गते अन्तिम १० दिनको समय तोकेर प्राधिकरणका अध्यक्षलाई आग्रह गरेकोमा पूरा नगरेको भन्दै गत श्रावण ९ गतेदेखि चरणबद्ध विरोधका कार्यक्रमहरु शुरु गरेको थियो।
प्राधिकरण व्यवस्थापन समक्ष राखेका आफ्ना कुनैपनि मागहरु सम्बोधन नभएको भन्दै पहिलो चरणमा कालो ब्यानर र कालोपट्टि बाँधेर श्रावण ९ गते शुरु गरेको आन्दोलन अन्तर्गत धर्ना युनियनले अध्यक्षको कार्यकक्षअगाडि धर्नासमेत बसेको थियो ।
सम्बन्धित समाचार
माग पूरा नभएपछि दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनले शुरु गर्यो चरणबद्ध आन्दोलन
नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले अध्यक्षको कार्यकक्ष अगाडि शुरु गर्यो धर्ना
दूरसञ्चार प्राधिकरणको कार्यालय जोखिममा: कोठाकोठामा आहाल, कर्मचारी र सेवाग्राही असुरक्षित
प्रकाशित: २८ श्रावण २०८१, सोमबार