आईटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्करक, अन्वेषक, अनुसन्धानकर्तालाई पुरस्कृत गरिने

  • Technology Khabar | २७ श्रावण २०८१, आईतवार
आईटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्करक, अन्वेषक, अनुसन्धानकर्तालाई पुरस्कृत गरिने

काठमाडौं ।

केही दिनअघि सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (म्याप फाउन्डेसन नेपाल) स्थापना गरिने भएको छ।

फाउन्डेसनले अक्षय कोषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने बताइएको छ । साथै विभिन्न सामाजिक कार्यक्रममार्फत समाजको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ।

मृतक आईटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्करक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजको परिवारले जनाएको छ। ‘हाम्रा सन्तति नै हाम्रा सम्पत्ति हुन् । उनीहरूको सम्झना र योगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूको नाममा फाउन्डेसन स्थापना गर्न लागिएको हो,’ पारिवारिक स्रोतले बतायो।

त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाको नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पोखरेलले भनिन्, ‘हाम्री छोरीले इमान्दार कर्मचारीको रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकोष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हौँ ।’

चार वर्षे नाबालक नाति अधिराजको नाममा अर्यालहरूको थातथलो सप्तरीको बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने छ ।

बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, ‘पढाइमा तेज मेरो नातिलाई पढाउने मेरो इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हौँ ।’

यसका साथै म्याप फाउन्डेसनको सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिने परिवारजनले बताएका छन् ।

प्रकाश खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा यस फाउन्डेसनका बारे विभिन्न सरोकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयोगका लागि अपिल समेत गरेका छन्।

* हेडलाइन सम्पादित

प्रकाशित: २७ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×