एआई चिप निर्माता स्टार्टअप ग्रोकले संकलन गर्यो ६४ करोड डलर फण्ड

Technology Khabar २२ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

जेनेरेटिभ एआई मोडलहरुलाई परम्परागत प्रोसेसरको तुलनामा द्रुत गतिमा चलाउने चिप डेभलप गर्दै आएको स्टार्टअप कम्पनी ग्रोकले ६४ करोड डलर लगानी उठाएको छ। कम्पनीले सोमबार ब्लायकरकको नेतृत्वमा भएको फण्डिङ राउण्डमा उक्त रकम संकलन गरेको हो।

उक्त फण्डिङ राउण्डमा न्युबर्गर बर्मन, टाइप वन भेञ्चर्स, सिस्को, केडीडीआई तथा सामसङ क्याटिस्ट फण्ड पनि सहभागी रहेको समाचार संस्था टेकक्रञ्चले जनाएको छ।

यो संकलनपछि ग्रोकको संकलित पुँजी १ अर्ब डलर नाघेर समग्र पुँजी २ अर्ब ८० करोड डलरमा पुगेको छ। कम्पनीले साढे २ अर्ब भ्यालुएशन भएको ३० करोड डलर पुँजी संकलन गर्ने लक्ष्य राखेकोमा संकलित यो रकम निकै सकारात्मक मान्न सकिन्छ।

यो संकलनले कम्पनीको यसअघि २०२१ अप्रिलमा टाइगर ग्लोबल म्यानेजमेन्ट र डी१ क्यापिटल पार्टनर्सको नेतृत्वमा ३० करोड डलर उठाएर बनाएको १ अर्ब भ्यालुएशनलाई दुई गुणाभन्दा पनि बढी बनाइदिएको छ।

समाचार अनुसार मेटाका मुख्य वैज्ञनिक यान लेकन ग्रोकका प्राविधिक सल्लाहकार तथा इन्टेलको फाउण्ड्री व्यवसायका पूर्व प्रमुख र एचपीका पूर्व सीआईओ स्टुआर्ट पान यो स्टार्टअपका चिप अपरेटिङ अफिसर हुने पक्का भएको ग्रोकले घोषणा गरेको छ।

सन् २०१६ मा सानो कम्पनीबाट उदाएको ग्रोकले हाल ल्याङ्ग्वेज प्रोसेसिङ यूनिट एलपीयू इन्फरेन्स इन्जिन निर्माण गरिरहेको छ। कम्पनीले यी एलपीयूहरुले हाल उपलब्ध जेनेरेटिभ एआई मोडलहरुलाई ओपनएआईको च्याटजीपीटी र जीपीटी-४ओकै आर्किटेक्चरमा दश गुणा कम उर्जाको प्रयोग गरी दश गुणा द्रुत गतिमा चलाउन सक्ने दावी गरेको छ।

प्रकाशित: २२ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया