काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा ‘ब्रिफिङ’ लिँदै उनले समाचारका क्षेत्रमा राससलाई ‘गुरु’ संस्थाका रुपमा विकास गर्न आग्रह गरे ।
“सबै सञ्चार माध्यमको अभिभावक रासस बन्नुपर्छ, समाचारको स्रोत रासस हुनुपर्छ, यसको सेवालाई प्रभावकारी बनाएर लैजानुपर्छ”, मन्त्री गुरुङले भने, “राजनीतिक प्रभावबाट मुक्त पारेर राससलाई आस्थाको केन्द्र बनाउनुपर्छ ।”
परम्परागत कार्यशैली परिवर्तन गरेर परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिँदै मन्त्री गुरुङले देश र जनताको पक्षमा सकारात्मक नतिजा दिने आफ्नो योजनामा दृढ भएर अघि बढ्न आग्रह गरे ।
“अब यथास्थितिमा रहनु हुँदैन, शैली र व्यवहार बदल्नुपर्छ, म यथास्थितिलाई बदल्न आएको छु, परिवर्तनमा राससले सहयोग गर्नुपर्छ, हाम्रा पालामा राससलाई भिन्न बनाऔँ”, मन्त्री गुरुङले भने ।
सरकारका संयन्त्रलाई बलियो बनाएर लैजानुपर्ने धारणा व्यक्त गर्दै मन्त्री गुरुङले सरकारी संस्थामा संरचनात्मक सुधारको आवश्यकता औँल्याए ।
राससको ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्छ भन्दै उनले सञ्चारसम्बन्धी कानुन परिमार्जन आफ्नो प्राथमिकतामा रहेको बताए । “राससको ऐन संशोधनका लागि तयारी गर्नुस्, मन्त्रालयले सहयोग गर्छ”, उनले भने ।
सेवा प्रवाह र सुशासनका क्षेत्रमा तत्काल थप सुधार थाल्न निर्देशन दिँदै मन्त्री गुरुङले सुधारका प्रयासमा सधैँ आफ्नो साथ र सहयोग रहने विश्वास दिलाए ।
राससको नेतृत्वले अवसरलाई परिणाममा रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक सम्पादन गर्न निर्देशन दिए ।
“राससलाई आकर्षणको केन्द्र बनाउनुपर्छ, यसमा कर्मचारीको हातेमालो आवश्यक छ”, मन्त्री गुरुङले भने, “मेहनत गर्नेले नै सफलता प्राप्त गर्छ, पदमा रहुञ्जेल इमान र मेहनतका साथ असल काम गर्नुपर्छ ।” रासस