Technology Khabar १५ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
हालै अमेरिकी निर्वाचनकी डेमोक्र्याट उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको नक्कल गरिएको आवाजयुक्त भिडियोले इन्टरनेटमा सनसनी मच्चाइरहेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी ह्यारिसको जस्तै आवाजमा उनले नभनेका अभिव्यक्तिहरु समावेश गरेर बनाइएको उक्त छेडखानी गरिएको भिडियोले ३ महिनापछि हुन लागेको चुनावलाई एआईको शक्तिले कसरी पथभ्रष्ट गर्न सक्छ भन्ने स्पष्ट पारेको प्रविधि वृत्तको बुझाई रहेको छ ।
अझ स्पेसएक्सका मालिक इलन मस्कले समेत उक्त भिडियो शेयर गरेपछि त सर्वत्र यसबारे र एआईको दुरुपयोगले भविष्यमा निम्त्याउन सक्ने नकारात्मकता प्रति मानिसहरु चिन्तित बनेका छन् ।
मस्कले गत शुक्रबार व्यङ्ग्यात्मक रुपमा बनाइएको भन्ने थाहा नपाई उक्त भिडियो आफ्नो सामाजिक सञ्जाल एक्समा सेयर गरेका थिए । उक्त भिडियोमा धेरै दृश्यहरु ह्यारिसले गत हप्ता आफ्नो अभियान सार्वजनिक गर्ने क्रममा सार्वजनिक गरेको विज्ञापनबाट तानिएका अन्तरराष्ट्रिय समाचार संस्था एपीन्युजले जनाएको छ।
तर यसमा प्रयोग भएको अडियो भने ह्यारिसको सक्कली नभएको बरु ह्यारिसको जस्तै भएको बुझिएको छ।
‘म, कमला ह्यारिस, जो बाइडेनले बुढ्यौली र अशक्तताको कारण मैदानबाट पछि हटेपछि बनेको तपाईँको डेमोमक्र्याट उम्मेदवार’, भिडियोमा राखिएको उक्त आवाजले भनेको छ । भिडियोको आवाजले ह्यारिस महिला र त्यसमाथि अश्वेत भएका कारण विविधतायुक्त पात्रका रुपमा मात्र निर्वाचनको उम्मेदवार भएको र उनलाई ‘देश कसरी चलाउने थाहा नभएको’ दावी गरेको छ।
उक्त भिडियोमा ‘राष्ट्रपतिका लागि ह्यारिस’ को ब्राण्डिङ गरिएको छ भने बेला बेला ह्यारिसका पहिलेका सक्कली भिडियो क्लिपहरु पनि जोडिएको एपीन्युजको समाचारमा उल्लेख छ।
प्रकाशित: १५ श्रावण २०८१, मंगलवार