Technology Khabar १४ श्रावण २०८१, सोमबार
काठमाडौं ।
विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल–ईभी) दौडमा एप्पलले सामेल नहुने बताए पनि चीनको प्राविधिक परिदृश्यले भने अटोमोटिभ बजारमा स्मार्टफोन जायन्टहरूको प्रवेशको बढ्दो प्रवृत्ति देखिरहेको छ।
ह्वावेले एचआईएमए (हिमा) मोडल जस्ता कारहरूमा आफ्ना सेवाहरूको इन्टिग्रेसन गरेपछि र कार उत्पादनमा शाओमीको हालैको प्रवेश पछि अब गीलीको विङमा मेइजुले पनि यस वर्षको अन्त्यमा आफ्नो पहिलो कार अनावरण गर्ने तयारी गरिरहेको छ।
चाइनाजोय २०२४ प्रदर्शनीमा मेइजुका चिफ अपरेटिङ्ग अफिसर (सीओओ) लियाओ किङहोङले उक्त घोषणा गरेको जनाइएको छ। साथै किङहोङले मेइजुको आगामी उक्त नयाँ कारले परम्परागत कार उत्पादकहरूको भन्दा फरक पर्फमेन्स प्रदर्शन गर्नेमा जोड दिएका छन्।
आगामी मेइजु ड्रीमकार एमएक्स गीलीले निर्माण गर्नुका साथै एसईए (सस्टेनेबल एक्सपीरियन्स आर्किटेक्चर) प्लेटफर्ममा आधारित हुने उल्लेख छ। साथै प्रारम्भिक तस्बिरहरूले यो ईभी लिङ्क एन्ड को जेड१० जस्तै आकारमा सेडान डिजाइनमा भएको देखाएको उल्लेख गरिएको छ।
मेइजुले प्रयोगकर्ताको संलग्नतालाई मुख्य प्राथमिकता दिने बुझिएको छ । गत जनवरीमा कम्पनीले ड्रीमकार एमएक्स कम्युनिटि लन्च गर्दै उक्त अन्तरक्रियात्मक प्लेटफर्ममा प्रशंसकहरूलाई डिजाइनबारे छलफल र निजीकरण विकल्पहरूमा भाग लिन अनुमति दिएको थियो।
साथै उक्त छलफलमा को–क्रियटिङ्ग कलर स्किम्स (सह–सिर्जना रङ योजनाहरू), फ्लाईमी अटो थिम्स र कारका अन्य पक्षहरूलाई सम्भावित रूपमा प्रभाव पार्ने जस्ता विषयवस्तुहरू समावेश गरिएको उल्लेख छ।
यद्यपि, मेइजुको अटोमोटिभ उद्यमको सफलताको बारेमा भने अनिश्चित रहेको उल्लेख गरिएको छ। त्यसैगरी मेइजु र शाओमी दुवैसँग परम्परागत अटोमेकरहरूको तुलनामा कार निर्माणमा स्थापित अनुभवको कम रहेको जनाइएको छ।
चिनियाँ ईभी बजार अत्यधिक प्रतिस्पर्धी छ जहाँ बीवाईडी र टेस्ला जस्ता स्थापित खेलाडीहरूले महत्त्वपूर्ण बजार सेयरहरू होल्ड गरेका छन्। मेइजुको सफलता यसको युजर–सेन्ट्रिक अप्रोच र गीलीको उत्पादन क्षमताहरूको लाभ उठाउन ड्रीमकार एमएक्सले कत्तिको राम्रोसँग सक्छ भन्ने कुरामा निर्भर हुनेछ।
मेइजुले थुप्रै ईभी उत्पादकहरुको भिडमा आफ्नो एउटा छुट्टै स्थान बनाउन सक्छ कि सक्दैन भन्ने बारेमा समयले बताउनेछ।
सार्वजनिक हुने मिति नजिकिँदै गरेको मेइजु ड्रीमकार एमएक्सबारे थप जानकारी बाहिरिने अपेक्षा गर्न सकिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ श्रावण २०८१, सोमबार