Technology Khabar ९ श्रावण २०८१, बुधबार
काठमाडौं ।
यहाँको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकजित छन्त्याल विदेशमा रहेका आफन्तदेखि छिमेकीसँग भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्छन्।
सोही गाउँका दलमान छन्त्यालले पनि ‘एन्ड्रोइड फोन’ र इन्टरनेट सुविधा भएपछि सूचना आदानप्रदानको परम्परागत शैली परिवर्तन गरे। “गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो,” उनले भने, “अहिले फेसबुक ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ।”
इन्टरनेट भएपछि सस्तो र सजिलो रुपमा देश विदेशमा रहेका आफन्त, साथीभाईसँग कुराकानी र सूचना आदानप्रदान गर्न पाएको टेकजितले बताए। “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर एक महिना अघि चिठी पठाउने व्यक्ति चिठी भन्दा पहिले घर आइपुग्ने अवस्था थियो,” उनले भने, “अहिले विश्वको जुनकुनै ठाउँमा भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”
ठाडाखानीका बासिन्दाले सामूहिक रुपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदानप्रदानको शैली फेरिएको हो।
गाउँपालिकाको रु छ लाख ५० हजार अनुदान र स्थानीयवासीले जुटाएको रु १२ लाख ५० हजार रकमबाट अल्पङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको ठाडाखानीका ६५ घरमा इन्टरनेट जडान गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।
“ठाडाखानीसहित कमनाथ, कालावाङ, कोटगाउँ, पाखापानी, औँला, फुलडाँडा बस्तीका सबै घरमा सामूहिक रुपमा इन्टरनेट जडान भएको छ,” उनले भने, “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।”
विकास निर्माण र सामाजिक कामको लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचारप्रसार गर्न फेसबुक पेजको प्रयोग गरिएको छ।
समाचारका लागि सञ्चार माध्यममको अनलाइन पेज र युट्युब च्यानलबाट समाचार सुन्न, हेर्ने र पढ्न थालेका छन् । युट्युबमा आफूलाई मनपर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।
रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको रु छ लाख ५० हजार बजेटबाट पाखापानी, कमनाथ, रायखोर, औला, कालावाङ, फुलडाँडा क्षेत्रमा इन्टरनेट विस्तार भएको थियो । पाँच सय घरधुरी रहेको पाखापानी वडाको रायखोर, मुलपानी र उल्लेरीका ९० घरधुरी बाहेक सबैमा इन्टरनेट जडान भएको छ ।
आगामी वर्ष रायखोर क्षेत्रमा इन्टरनेट विस्तार गर्न हिउँदे गाउँसभाबाट बजेट व्यवस्था गर्ने वडा अध्यक्ष शेरपुञ्जाले बताए।
प्रकाशित: ९ श्रावण २०८१, बुधबार