Technology Khabar २८ असार २०८१, शुक्रबार
काठमाडौं ।
विद्युतीय सवारी साधन कम्पनी टेस्लालाई आफ्नो ठूलो बजार अमेरिकामा झट्का लागेको छ। अमेरिकाको ईभी बजारमा कम्पनीको हिस्सा ५० प्रतिशतभन्दा कममा झरेको छ। तर पनि यो प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छ। यसैगरी अन्तर्राष्ट्रिय बजारमा पनि ईभीको बिक्रीको गति घटेको छ।
मार्केट रिसर्च फर्म कक्स अटोमोटिभको तथ्याङ्कअनुसार अमेरिकामा अर्बपति इलन मस्कको टेस्लाको बजार हिस्सा दोस्रो त्रैमासिकमा ४९.७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ५९.३ प्रतिशत थियो।
टेस्लाले सन् २०१२ मा मोडल एसका साथमा व्यापार सुरु गरेको थियो। कम्पनीको मोडल एस ठूलो संख्यामा बिक्री भएको थियो। यसपछि ल्याइएका मोडल एक्स र मोडल ३ पनि लोकप्रिय भए। तर, पछिल्ला केही महिनामा कम्पनीको बिक्री घटेको छ।
अमेरिकी बजारमा हुन्डाई, जनरल मोटर्स र फोर्डको शेयर दोस्रो त्रैमासिकमा बढेको छ। टेस्लाको मोडल वाई गत वर्ष विश्वमा सबैभन्दा बढी बिक्री हुने कार बनेको छ।
जापानी अटोमोबाइल कम्पनी टोयोटाको कोरोला करिब दुई दशकसम्म अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी बिक्री हुने कार थियो। गत वर्ष बिक्रीको हिसाबले चौथो स्थानमा थियो।
टेस्लाले आफ्नो सबैभन्दा ठूलो बजार चीनलगायत विदेशमा वृद्धि कायम गर्न संघर्ष गरिरहेको छ। यसले चीनमा बीवाईडीबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। यसबाहेक निओ इंक, एक्सपेङ्ग र ली अटोको बिक्री पनि बढेको छ। विद्युतीय कारको मूल्य घटाएपनि टेस्लाको बिक्री भने बढेको छैन। यही कारण मस्कले कम्पनीबाट कयौं कर्मचारी निकालेका छन्।
जाटो डाइनामिक्सको तथ्यांक अनुसार टेस्लाले गत वर्ष मोडल वाईका करिब १२.२ लाख युनिट बेचेको थियो। यो वार्षिक आधारमा करिब ६४ प्रतिशतले बढेको हो। टोयोटाले कोरोलाको बिक्रीमा करिब १९ प्रतिशतले गिरावट आएको जनाएको छ। गत वर्ष, टोयोटाको र्याभ फोर लगभग १०.८ लाख युनिटको बिक्रीको साथ दोस्रो सबैभन्दा बढी बिक्री हुने कार थियो। यो पछि होन्डाको सीआर-भी (८,४६,००० युनिट) थियो। टेस्लाको मोडल ३ ले पनि शीर्ष १० सबैभन्दा बढी बिक्री हुने कारमा स्थान बनाएको छ।
प्रकाशित: २८ असार २०८१, शुक्रबार