गुणस्तर सुधार्न टेलिकमलाई संचार मन्त्रीको निर्देशन, पूर्वाञ्चलमा फोरजी टावर संचालन गर्ने योजना

Technology Khabar १७ असार २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् ।

असार १६ गते मन्त्री बास्कोटाले निरीक्षण भ्रमणको अवसरमा बोल्दै सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नु पर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्ने बताए ।

उनले ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने बताए ।

‘नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्छ र यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा आगामी दिनमा मन्त्रालयको संलग्नता रहिरहने छ’, उनले भने ।

उनले अधिकार खोज्ने मात्र नभई, कर्तव्यको पनि पालना गर्नु पर्ने कुरा युनियनहरुलाई स्मरण गराउदै राजनीति गर्नका लागि मात्र युनियनलाई प्रयोग नगर्न आग्रह गरे ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रविधिको द्रूत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन् ।

उनले कम्पनीका ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य रहेको जानकारी दिईन् ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रको वर्तमान स्थिति, कार्यक्रम र गतिविधि वारेमा जानकारी गराएका थिए ।

पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्ज (MSAN Exchange) उद्घाटन गरे । सो एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।

मन्त्री बाँस्कोटाले नागरिकको अधिकारको रुपमा रहेको सञ्चार सेवालाई नेपाल टेलिकमले शहरदेखि दुर्गम क्षेत्रका घर घरमा समेत पुर्याउनु पर्ने बताउदै मोबाइल सेवासँग मानिसको जीवन्त सम्बन्ध भएकाले कुनै पनि नागरिक यो सेवा प्राप्त गर्नबाट बञ्चित हुन नहुने बताए ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले भविष्यमा पूर्वाञ्चल क्षेत्रमा ७ सय ५ वटा फोरजीका टावर सञ्चालनमा ल्याउने र त्यसबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हाल सम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुने जानकारी गराईन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार रानाले पनि ल्यान्डलाइन टेलिफोन सेवा मोबाइल सेवा भन्दा बढी भरपर्दो हुने भएकोले ल्यान्डलाइन सेवालाई थप विस्तार गरिदिन आग्रह गरे । सो अवसरमा निःशुल्क सिम वितरण गरिएको टेलिकमले जनाएको छ ।

प्रकाशित: १७ असार २०७५, आईतवार

तपाइको प्रतिक्रिया