
काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ।
सिटिईभीटीको प.नि.का.बाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका तोकिए बमोजिमका शैक्षिक कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन चाहने विद्यार्थीहरुलाई अनलाइन फाराम भर्न भनिएको छ।
सार्वजनिक सूचनाअनुसार, सरकारी, सामुदायिक र परिषद्का आङ्गिक शिक्षालयहरूबाट एस.एल.सी/एस.ई.ई /प्रि-डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०६१ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन/स्वीकृति प्राप्त आंगिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।
सिटिईभीटीको उक्त निःशुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि अनलाइन फाराम भर्ने व्यवस्था यहि असार २० गतेदेखि हुने उल्लेख गरेको छ भने २०८१ साउन ४ गते शुक्रबार मध्यरातसम्म आवेदन फाराम अनलाइनमार्फत बुझाउनुपर्ने छ। प्रवेश परीक्षा साउन १२ गते बिहान ८ः३० बजे हुने जानकारी दिएको छ। यसको लागि १ हजार रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ।
न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क बुझाई अध्ययन गर्ने प्रदेश, शिक्षालयहरू प्राथमिकोकरण र परीक्षा केन्द्रको जिल्लाहरू छनोट गरी अनलाइन एप्लिकेसन फर्म भर्नुपर्ने सिटिईभीटीले उल्लेख गरेको छ।
यसको लागि संस्थाको आधिकारीक वेबसाइट www.ctevt.org.np वा परीक्षाको लागि तोकिएको www.ctevtexam.org.np मा गई फाराम भर्नुपर्नेछ।
परिषदका आङ्गिक, साकेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना स्वीकृत कोटाको आधारमा प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई तोकिए बमोजिम कोटा सङ्ख्यामा छात्रवृत्ति प्रदान गरिने उल्लेख छ।
२० स्वीकृत कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० स्वीकृत कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० स्वीकृत कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा तीन र ४८ स्वीकृत कोटाको प्रत्येक शैक्षिक कार्यक्रममा चार वर्गीकृत (निःशुल्क)छात्रवृत्ति दिईने बताईएको छ।
सूचनामा परिषद् स्तर निर्धारण महाशाखा पोलिटेक्निक महाशाखा र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टीईसीएस) महाशाखाबाट सम्बन्धन स्वीकृत प्राप्त शिक्षालयहरूको विवरण र परिषद् कार्यालयको निर्णयानुसार कायम हुन आउने कार्यक्रमहरूमा निम्न वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाहरू समेत उल्लेख गरिएको छ।

प्रकाशित: १५ असार २०८१, शनिबार