अस्पष्ट सूचनाले गर्दा राष्ट्रिय परिचयपत्रका लागि भिड

Technology Khabar ७ असार २०८१, शुक्रबार

काठमाडौं ।

सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेर सूचना जारी गरेपछि म्याग्दीमा भिड लागेको छ।

जिल्लाका स्थानीय तहले आफ्नोमा पनि अनिवार्य रूपमा लागु हुन सक्ने भन्ने आधारमा परिचयपत्र बनाउनु भनेर सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि भिड लाग्ने गरेको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार देशका २८ जिल्लामा आउँदो साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको भए पनि गण्डकी प्रदेशको कास्की र तनहुँमा मात्रै त्यो लागु हुने बताए। प्रदेशका दुई जिल्लामा मात्रै लागु हुने भनिएको भए पनि जनताले सबै ठाउँमा लागु हुने बुझेकाले गर्दा म्याग्दीमा भिड बढेको उनको भनाइ छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको छ। यसले गर्दा पनि म्याग्दीमा परिचयपत्र लिनेको भिड बढेको प्रजिअ ढकालको भनाइ छ।

उनले भने, “म्याग्दीमा परिचयपत्र अनिवार्य गरेको छैन त्यसैले अहिले भिड गर्न पर्दैन तर परिचयपत्र बनाउनुपर्नेचाहिँ भएको हुनाले अनुकूल वातावरण हेरेर बनाउँदा हुन्छ ।” कम जनशक्तिले पनि जनतालाई सेवा दिइरहेको भए पनि अहिलेको भिड थेग्न भने मुस्किल रहेको जिल्ला प्रशासन म्याग्दीकी राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर विष्णु खत्रीले जानकारी दिए। जिल्लामा उपलब्ध जनशक्तिले पनि सेवा दिइरहेको उनको भनाइ छ।

उनले भने, “प्रदेशभित्र कास्की र तनहुँमा लागु भएको भए पनि अहिले गाउँ गाउँबाट ज्येष्ठ नागरिक परिचयपत्रका लागि आउने गरेको र सेवा दिने प्रयास हुँदै गर्दा पनि सिस्टम नचल्ने तथा अन्य प्राविधिक समस्या हुने गरेको छ।”

अहिले दैनिक ७० जनासम्म नयाँको बायोमेट्रिक गर्ने र १५ देखि २० जना पहिले परिचयपत्रको फाराम भरेर परिचयपत्र आइसकेकाको परिचयपत्र जारी गर्ने काम भइरहेको उनको भनाइ छ।

सरकारले घुम्ती शिविरमार्फत वडा वडामै गएर परिचयपत्रका लागि पहिला फाराम भरेकोमा अहिलेसम्म पनि कतिपयको नम्बर सिस्टममा नदेखिँदा समस्या भएको अपरेटर खत्रीको भनाइ छ।

केही जिल्लामा साउन महिनादेखि अनिवार्य गरिएको भन्ने सूचनालाई आधार मानेर सामाजिक सुरक्षाा भत्ता लिने नागरिक ओइरिँदा भिड थेग्नै मुस्किल भएको उनको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: ७ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया