आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता (एआई) नीतिको अवधारणा ल्याउने सरकारी तयारी

Technology Khabar ६ असार २०८१, बिहीबार

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता (एआई) नीतिको अवधारणा ल्याउने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजने्स-एआई) नीतिको अवधारणा तयारीको कार्य भइरहेको बताएकी हुन्।

“साथै नीति तर्जुमाको कार्यलाई तिब्रता दिन आवश्यक स्रोतको व्यवस्था गरिएको छ। एआईको प्रयोग, प्रवर्द्धन र नियमनको लागि इकोसिस्टम निर्माण गरिनेछ,” उनले भनिन्।

तीब्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजाने विषय मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्रीले जानकारी दिईन्।

यसैगरी, आगामी आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्‍चालन गरी सूचना प्रविधिको सुरक्षित प्रयोगको आधार तयार गरिने मन्त्रीको भनाई छ।

सञ्चार मन्त्रीकाअनुसार, सूचना प्रविधिको क्षेत्रमा विद्यमान डिजिटल डिभाईडलाई न्यूनिकरण गर्न विपन्न वर्गसम्म पहुँच वृद्धि गरी यस क्षेत्रलाई सामाजिक-आर्थिक रुपान्तरणको क्षेत्रको रूपमा विकास गरिनेछ।

यसका लागि नीतिगत, कानूनी संरचनागत सुधार गरिनेछ। सूचना प्रविधिलाई दैनिक जीवनको आधारको रूपमा विकास गरी सुरक्षित र व्यवस्थित प्रयोग गर्न यस क्षेत्रमा थुप्रै काम गर्नुपर्ने उनले धारणा राखिन्।

प्रकाशित: ६ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया