‘कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म प्रति सरकारको आग्रह/पूर्वाग्रह छैन’ -सञ्चार मन्त्री

Technology Khabar ६ असार २०८१, बिहीबार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कुनैपनि सामाजिक सञ्जाल प्रति कुनै आग्रह पुर्वाग्रह नभएको बताएकी छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै देशको कानून र सामाजिक सद्भाव एवं सामाजिक वातावरणमाथि प्रतिकूल असर नपार्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म प्रति सरकारको आग्रह वा पूर्वाग्रह नभएको बताएकी हुन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले सो धारणा राखेकी हुन्।

उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लगिने जानकारी दिँदै यसको लागि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका जारी भएको र थप व्यवस्थित गर्न विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको बताईएन्।

मन्त्री शर्माले भनिन्, “नेपालको प्रचलित कानून र सामाजिक सद्भाव एवं सामाजिक वातावरण माथि प्रतिकूल असर नपार्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मप्रति सरकारको कुनै आग्रह पूर्वाग्रह छैन।”

यसैगरी उनले सामाजिक सञ्जाल यूट्‍युवको व्यवस्थित अभिलेख, सूचीकरण र नियमित अनुगमन गर्ने कार्य प्रेस काउन्सिल नेपालबाट भईरहेको स्पष्ट पारिन्।

मन्त्रीले आमसञ्चार क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपाल मार्फत पत्रकार आचार संहिता कार्यान्वयनमा जोड दिइएको भन्दै आफ्नो बारे मिडियामा प्रकाशित, प्रसारित सामग्री गलत हो भन्ने लागेमा सम्बन्धित व्यक्तिले प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने व्यवस्था रहेको जानकारी गराईन्।

प्रकाशित: ६ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया