काठमाडौं ।
बाँके जिल्लाका स्थानीय तहले नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि विभिन्न नयाँ नयाँ उपाय अपनाउन थालेका छन्। सो क्रममा बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘पूर्ण डिजिटल’ बनाएर जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ।
बैजनाथले गाउँपालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठै ओटा वडालाई समेत ‘डिजिटल’ बनाउन लागेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए। उनले सोही क्रममा बैजनाथ गाउँपालिकाका सबै वडामा ‘डिजिटल बडापत्र’ जडान गरेर त्यसको सुरुवात गरिएको बताए।
पालिकाले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इफोसिसको प्राविधिक सहयोगमा पालिकामा ‘डिजिटल नागरिक बडापत्र’ र वडामा ‘नागरिक बडापत्र’ जडान गरी सञ्चालन गरेको अध्यक्ष शाहीले बताए।
पालिकामा नागरिक बडापत्र जडान गर्ने कार्य पालिकाको १ नम्बर वडाबाट सुरु गरिएको छ। अत्याधुनिक प्रविधिसँग पालिकालाई जोड्ने अभियान अन्तर्गत आगामी वर्षमा पनि थप कार्यक्रम र योजना तर्जुमा गरेर अघि बढ्ने पालिकाले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: २ असार २०८१, आईतवार