खुमलटारको जग्गामा डाटा सेन्टर र अन्य भवन बनाउन नदिने सांसद कार्कीको चेतावनी

Technology Khabar ३२ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

सांसद रोशन कार्कीले ललितपुरस्थित खुमलटारको जग्गा खुला राख्न र त्यहाँ अन्य भवन बनाउन नपाईने बताएकी छ्न।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कार्कीले उक्त जग्गा रेडियो नेपालको उपयोगको लागि दिएको भन्दै त्यसलाई खुला राख्नुपर्ने बताईन्। उनले रेडियो नेपालको लागि अधिग्रहण गरिएको जग्गामा सोही कामका लागि उपयोग गरिनुपर्ने बताईन्।

नेपाल जोखिमयुक्त देश रहेको भन्दै भुकम्प आएको समयमा उक्त जग्गामा आफूसहित हजारौं मानिसहरुले आश्रय लिएको भन्दै त्यहाँ डाटा सेन्टर र इन्टरनेट एक्सचेन्ज बनाउन नहुने चेतावनी दिईन्।

उनले मन्त्रीपरिषदले निर्णय गरेर अन्य संस्थालाई दिएको सो जग्गा पुनः फिर्ता गर्नुपर्ने भन्दै त्यसलाई बगैंचा वा पार्क बनाउन माग गरिन्।

भोली फेरी त्यस्तै दैवी प्रकोप आएमा खुला स्थान चाहिने भन्दै त्यसमा भवन बनाउन नहुने बताईन्।

स्मरण रहोस् सरकारले उक्त जग्गा नेपाल दूरसञ्चार प्राधिकरण र आईटी पार्कका लागि उपयोग गर्ने निर्णय गरेको थियो। तर हालसम्म उक्त जग्गा ति निकायहरुको नाममा आउन सकेको छैन्। उक्त जग्गामा विवाद भएसँगै जग्गा ल्याउने र प्राधिकरणको भवन बनाउने योजना तुहिएको छ।

२०७५ फागुन २८ गते बसेको तत्कालिन मन्त्रिपरिषदको बैठकले नै खुमलटारको जग्गा दूरसञ्चार प्राधिकरण र ज्ञान पार्कको नाममा आईटी पार्क निर्माणका लागि दिने निर्णय गरेको थियो। त्यसमध्ये करिब ४३ रोपनी दूरसंचार प्राधिकरणले प्राप्त गर्ने योजनामा छ।

उक्त जग्गा खुला र खाली राख्नुपर्ने भन्दै स्थानीय बासिन्दाहरुले समेत पटक पटक विरोध गर्दै आएका छन्।

प्रकाशित: ३२ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया