राष्ट्रिय परिचयपत्र वितरण गर्न स्थलगत शिविर

  • Technology Khabar | ३१ जेष्ठ २०८१, बिहीबार
राष्ट्रिय परिचयपत्र वितरण गर्न स्थलगत शिविर

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र लिनेको अत्यधिक भिड बढेपछि मकवानपुरमा बुधबारबाट परिचयपत्र वितरण गर्न स्थलगत विशेष दर्ता शिविर सुरु गरिएको छ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर आगामी साउन १ बाट अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न वृद्धवृद्धाको भिड जिल्ला प्रशासन कार्यालयमा बढेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न प्रशासन कार्यालयमा आउने वृद्धवृद्धाले गर्मीको समयमा सास्ती खेप्नु परेको र व्यवस्थित गर्न नसकेको जनगुनासोपछि स्थलगत विशेष दर्ता शिविर सुरु गरिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिपालुले स्थलगत विशेष दर्ता शिविर कार्यक्रम सामाजिक सुरक्षा लाभग्राहीका लागि मात्र सञ्चालन गरिएको जानकारी दिए। उनले जिल्ला सदरमुकामबाहेकका पालिकालाई लक्षित गरी शिविर आयोजना गरेको बताए।

स्थलगत विशेष दर्ता शिविर मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट सुरु भएको छ। दर्ता शिविर जिल्लाका विभिन्न पालिकामा आगामी असार २२ सम्म चल्ने भएको छ।

शिविरका लागि पहिलो टोली राक्सिराङ गाउँपालिकाको केन्द्रमा बुधबारबाट आगामी असार १ गतेसम्म, कैलाश गाउँपालिकामा आगामी असार ३ बाट ६ गतेसम्म, थाहा नगरपालिकामा असार ८ देखि १३ गतेसम्म र इन्द्रसरोवर गाउँपालिकामा असार १५ देखि १८ गतेसम्म राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न टोली खटिने भएको छ।

यस्तै राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविरका लागि दोस्रो टोली बिहीबारबाट आगामी असार २ गतेसम्म बागमती गाउँपालिकामा, बकैया गाउँपालिकामा असार ४ देखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ देखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ देखि १७ गतेसम्म र मनहरी गाउँपालिकाको केन्द्रमा असार १९ देखि २२ गतेसम्म जाने भएको छ। गोरखापत्रबाट

प्रकाशित: ३१ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...