Technology Khabar २५ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले सरकारलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम करिब १७ महिना अर्थात डेढ वर्षमै २ अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैले बढेको छ।
लामो समयदेखि रकम नतिरेको कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी बक्यौता रकम बुझाउन भनेको छ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै युटिएललाई बाँकी बक्यौता रकम तिर्न आदेश दिएको हो।
प्राधिकरणले २०७३ भदौ २० गते उक्त कम्पनीलाई जारी गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रपश्चात् त्यस कम्पनीबाटबाट नेपाल सरकार तथा प्राधिकरणलाई तिर्नु/बुझाउनु पर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम बाँकी रहेको भन्दै २०८१ असार ७ गते शुक्रबारसम्म तिर्न आदेश दिएको हो।
सूचनाअनुसार २०८१ जेठ मसान्तसम्म कायम हुन आएको जम्मा बाँकी रकम ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार ३३७ रुपैयाँ १२ पैसा रहेको छ।
कम्पनीले उक्त बाँकी बक्यौता रकम १५ दिनभित्र तिर्नुपर्ने सूचनामा उल्लेख छ।
यसअघि २०७९ माघ १६ मा प्रकाशित सूचनाअनुसार कम्पनीको बाँकी बक्यौता रकम ५ अर्ब ३० करोड ९४ लाख १५३.८८ रुपैयाँ रहेको थियो।
जेठ मसान्तसम्म बाँकि रहेको सम्पूर्ण वक्यौता नबुझाएमा अनुमति पत्र खारेज गर्ने प्रकृयामा जाने प्राधिकरणले चेतावनी दिएको छ। नियामकले दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने बताएको हो।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जारी गरेको सूचनामा भनिएको छ, “…जम्मा रकम रु.७,४२,९३,९१,३३७.१२ (मिति २०६१ जेष्ठ मसान्तसम्म कायम हुन आएको जम्मा बाँको रकम) यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बुझाउनुहुन जानकारी गराइन्छ। साथै उक्त समयावधिभित्र बाँको बक्यौता नबुझाएमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।”
यसअघि कम्पनीले दूरसञ्चार सेवाको एकिकृत लाइसेन्स लिँदाको शर्त अनुसारको बुझाउन बाँकी रकम पाँचौ किस्तामा २० करोड ४१ लाख ८७ हजार ८ सय रुपैयाँ २०७५ बैशाखमा बुझाएको थियो। कम्पनीले लाइसेन्स लिएपछिको लाइसेन्स नविकरणको रकम वार्षिकरुपमा ८ किस्तामा बुझाउने शर्तअनुसार किस्तामा रकम बुझाउँदै आएकोमा त्यसपछि भने कुनै रकम बुझाएको छैन्।
त्यस बेला युटिएलले चार अर्ब रुपैयाँले पूँजी वृद्धिको अनुमति लिनका लागि रकम बुझाएको थियो। तत्कालिन उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२५ औं बैठकले युटिएललाई सो पूँजी वृद्धिको अनुमति दिएको थियो।
यसका साथमा कम्पनीको कुल पूँजी ६ अर्ब रुपैयाँ हुने थियो।
तत्कालिन समयमा यूटिएललाई पुन संचालनमा ल्याउने गरि नेपाली व्यवसायीहरुले तयारी गरिरहेको बेलामा कम्पनीले पूँजी वृद्धिको अनुमति पाएको थियो।
गैर आवासिय नेपाली व्यवसायी उपेन्द्र महतोको नेतृत्वमा नेपाली व्यवसायीक घरानाहरु विशाल ग्रुप, ज्योती ग्रुप, आईएमसएस ग्रुपसहितको लगानीमा यूटिएललाई पुन संचालनमा ल्याउने तयारी भईरहँदा पछि स्वामित्व हस्तान्तरणमा ढिलाई भएसँगै उक्त प्रकृया रोकिएको थियो।
तर त्यसपछि भारतीय सरकारले दूतावासमार्फत स्वामित्व हस्तान्तरण गर्नदिन सहमति पत्र पठाएपनि यहाँ लामो समयदेखि सरकारी बाँकीबक्यौता नतिरेपछि प्रकृया नै अगाडि बढ्न सकेको छैन्।
यसबीचमा सर्वोच्च अदालतले युटिएलको मुद्दा २०८० माघ २३ मा खारेज गरेसँगै कम्पनीको अनुमति पत्र खारेज गर्ने बाटो नियामकलाई खुलेको हो।
प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार