Technology Khabar २७ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
युट्युबले केही बन्दुक–सम्बन्धित कन्टेन्ट (सामग्री) हरू प्रतिबन्ध गर्नका लागि भनेर आफ्नो फायरआर्म्स पोलिसी (हतियार नीति)लाई चुपचाप अपडेट गरेको छ।
यहि जून १८ देखि लागु हुनेगरी केही फायरआर्म एक्सेसरिज सहित घरेलु वा स्वचालित फायरआर्म्स देखाउने भिडियोहरू १८ वर्ष र माथिका दर्शकहरूका लागि मात्र हुनेछन्। यसकासाथै, अब फायरआर्म्सबाट सेफ्टी डिभाइसहरू हटाउने ट्यूटोरियलहरू पूर्णरूपमा प्रतिबन्धित हुने भएका छन्।
प्रतिबन्ध वास्तविक संसारका फायरआर्म्समा मात्र लागू हुने
यी परिवर्तनहरूले उनीहरूको नीतिहरू विकसित भइरहेको अनलाइन परिदृश्यमा अनुकूलन गर्ने लक्ष्य राखेको युट्युबले जनाएको छ। उदाहरणका लागि, थ्रीडी प्रिन्टिङको बढ्दो उपलब्धताले उनीहरूलाई होममेड फायरआर्म कन्टेन्ट (घरमै बनाइएको हतियार वा बन्दुक सामग्री) मा समेत प्रतिबन्धहरू विस्तार गर्न प्रेरित गरेको हो।
साथै यी प्रतिबन्धहरू भिडियो गेमहरू, चलचित्रहरू, वा अन्य कलात्मक सामग्रीहरूमा नभएर वास्तविक संसारका फायरआर्म्स (हतियारहरू) मा मात्र लागू हुने उल्लेख गरिएको छ। यसबाहेक, सैन्य प्रशिक्षण फुटेज, समाचार रिपोर्टहरू, वा युद्ध क्षेत्रका भिडियोहरू जस्ता सार्वजनिक हितमा मानिने शैक्षिक सामग्रीको लागि भने अपवादको रुपमा लिइने छ।
एक वाचडग समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट (टीटीपी)’ ले गत वर्ष युट्युबको एल्गोरिदमले कम उमेरका प्रयोगकर्ताहरूलाई हतियार मोडिफिकेसन (परिमार्जन) ट्यूटोरियलहरू सहित हिंसात्मक बन्दुक–सम्बन्धित सामग्री सिफारिस गर्ने बारे चिन्ता उठाएपछि यो अपडेट आएको जनाइएको छ।
टीटीपीको उक्त अनुसन्धानमा बच्चाहरूको खाताहरू सिर्जना गर्ने र लोकप्रिय भिडियो गेमका भिडियोहरू हेरेपछि युट्युबको सिफारिसहरूको अनुगमन समावेश रहेको थियो।
टीटीपीले यस अपडेटको प्रशंसा गर्दै बलियो कार्यान्वयनको लागि थप महत्त्वका साथ जोड दिएको छ। टीटीपीले यी नयाँ नीतिहरूले प्रभावकारी रूपमा युवा दर्शकहरूलाई सम्भावित हानिकारक बन्दुक–सम्बन्धित सामग्रीबाट सुरक्षित राख्नको लागि बलियो सामग्री मध्यस्थताको आवश्यकतालाई हाइलाइट गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ जेष्ठ २०८१, आईतवार