नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग, यस्तो छ योग्यता र मापदण्डहरु

Technology Khabar २२ जेष्ठ २०८१, मंगलवार

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग, यस्तो छ योग्यता र मापदण्डहरु
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदको लागि आवेदन माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचनामार्फत नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि दरखास्त माग गरेको हो।

टेलिकमको एमडी पदमा आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको छ।

यसैगरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

यसमा व्यवस्थापकीय पद भन्नाले तहगत व्यवस्था भएका निकायका हकमा दसौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायको हकमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिको श्रेणीलाई बुझाउने स्पष्ट पारिएको छ।

सूचनाअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको व्यक्तिले दरखास्त दिन सक्ननेछ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले नियुक्त हुन चाहेको व्यहोरा खुल्ने दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, योग्यता, अनुभव र सम्पर्क खुल्ने व्यक्तिगत विवरण (Bio-data), शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षताको प्रमाणपत्र समेत), अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि (अधिकृत स्तरमा प्रत्येक तह श्रेणीको अवधि खुल्ने गरी) पेश गर्नुपर्ने उल्लेख छ।

यसैगरी, नेपाली वा अङ्ग्रेजी भाषामा ए ४ साइजको कागजमा तयार गरिएको बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्य योजना ( व्यावसायिक कार्य योजना कम्प्युटर टाइप गरिएको, पहिलो पानाको सबभन्दा माथि आफ्नो नाम, थर र ठेगाना लेखिएको र अन्यत्र कहीं पनि नाम वा आफूलाई चिनाउने कुनै सङ्केत नभएको र खाममा राखी सिलबन्दी गरिएको हुनुपर्नेछ), हालसालै खिचेको पासपोर्ट साइजको फोटो एक प्रति पेश गर्नुपर्नेछ।

यसका साथै शैक्षिक योग्यता र कार्यानुभव प्रमाणपत्रको हकमा नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ र दरखास्त साथ उम्मेदवारले आफ्नो योग्यता सम्बन्धी तोकिएको स्वःघोषणा फाराम भरी पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदकले आजको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने हुन्छ।

सरकारले आवेदकले पेश गरेको दरखास्त र व्यवसायीक कार्ययोजनालगायतका विषयहरुको आधरमा मूल्यांकन गर्ने र अन्तरवार्तासमेत लिने जानकारी दिएको छ।

यसको लागि सरकारले हालै स्वीकृत गरेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ सञ्चार मन्त्रालयको वेबसाइटमा राखिएको भनिएपनि यो समाचार तयार पार्दासम्म राखिएको देखिँदैन्।

हाल नेपाल टेलिकम निमित्त एमडीको भरमा रहेको छ। यसअघिका एमडी सुनिल पौडेल भ्रष्ट्राचारको मुद्दा दोषी ठहर भएसँगै थुनामा छन भने संगिता पहाडी अर्याललाई निमित्तको जिम्मेवारी दिईएको छ।

हेर्नुस् सूचना-

प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया