Technology Khabar १४ जेष्ठ २०८१, सोमबार
काठमाडौं ।
टेक्सास फ्यासिलिटिज स्थित कम्पनीको म्याकग्रेगरमा रहेको स्पेसएक्स परीक्षण स्ट्यान्ड मे २३ तारिखमा दिउँसो आफ्नो र्याप्टर २ इन्जिनको परीक्षणको क्रममा बिस्फोट भएको छ।
इन्जिनमा एनोमलि (केहि असामान्य) उत्पन्न भएको र जसले गर्दा वाफ बाहिर निस्किएर सेकेण्डरी एक्सप्लोसन (विस्फोट) भएको नासास्पेसफ्लाइट ले जनाएको छ। समाचार संस्थाको लाइभस्ट्रिमले आगो सुरु हुनु अघि इन्जिन बन्द भएको देखाएको थियो तर स्ट्यान्डलाई आगो र धुवाँले निलेको थियो।
स्पेसएक्सले आफ्नो स्टारशिप प्रणालीको सुपर हेभी बूस्टर र अपर–स्पेस (माथिल्लो चरण) को स्पेसक्राफ्ट (अन्तरिक्ष यान) का लागि र्याप्टर इन्जिनहरू प्रयोग गर्दछ। साथै तिनीहरूले इन्धनको रूपमा तरल मिथेन र तरल अक्सिजन प्रयोग गर्ने गरेको जनाइएको छ भने तिनीहरू चन्द्रमा र मंगल ग्रहमा स्टारशिप पठाउनका लागि पर्याप्त शक्तिशाली तवरले डिजाइन गरिएको उल्लेख छ।
त्यसैगरी यसमा चुहावट वा समान असामान्य गतिबिधिको कारणले ग्यासहरूको मिश्रणले गर्दा विस्फोट भएको हुन सक्ने गिज्मोडोले रिपोर्ट गरेको छ। यद्यपि स्पेसएक्सले परीक्षणको क्रममा के भयो भनेर आधिकारिक रूपमा जानकारी दिएको छैन्।
कम्पनीले हाल जुन ५ तारिखका लागि तय भएको स्टारशिपको चौथो परीक्षण उडानको तयारी गरिरहेको छ। यो विस्फोटले उडानको समय तालिकालाई असर नगर्ने सम्भावना रहेको छ।
स्पेसएक्सको चौथो परीक्षण उडानको मुख्य लक्ष्यहरू भनेको सुपर हेभी बूस्टरले मेक्सिकोको खाडीमा सफ्ट स्प्ल्याशडाउन प्राप्त गर्नुका साथै स्टारशिप स्पेसक्राफ्ट (अन्तरिक्ष यान) को नियन्त्रित प्रवेश प्राप्त गर्ने सुनिश्चित गर्नु भएको छ।
कम्पनीले आफ्नो तेस्रो उडान परीक्षणबाट सिकेको कुरालाई समावेश गर्न धेरै हार्डवेयर र सफ्टवेयर अपग्रेड गरेको बताएको छ। त्यस उडानको क्रममा स्टारशिपको माथिल्लो चरण अन्तरिक्षमा पुगेको तर यो रिइन्ट्रि (पुनः प्रवेश) गर्दा वायुमण्डलमा जलेको थियो।
प्रकाशित: १४ जेष्ठ २०८१, सोमबार