ताजा समाचार

नवीकरण शुल्कको विरुद्ध आन्दोलित टेलिकमका कर्मचारी स्वार्थ मिलेसँगै सहमतिमा

नवीकरण शुल्कको विरुद्ध आन्दोलित टेलिकमका कर्मचारी स्वार्थ मिलेसँगै सहमतिमा
Global IME Bank

नेपाल टेलिकमको सञ्चालक समितिले गत वैशाख १३ गते जीएसएम मोबाइल सेवाको तेस्रो नवीकरण बापतको बाँकी रकम एकमुष्ट भुक्तानी गर्ने निर्णणसँगै टेलिकमका कर्मचारीहरु प्रबन्ध निर्देशकको कार्यकक्ष घेराउ गर्दै आन्दोलनमा होमिएका थिए।

तेस्रो नवीकरण शुल्क बुझाएपनि २९ गते पछि नयाँ लाइसेन्स के हुन्छ भन्ने अन्यौल कायम रहेको भन्दै टेलिकमका चार कर्मचारी संगठन वैशाख १४ गतेदेखि संयुक्त रुपमा आन्दोलनमा थिए। नेपाल टेलिकमको जीएसएम मोबाइलको २५ वर्षे लाइसेन्स अवधि यहि वैशाख २८ गते सकिँदै छ।

आज मंगलबार टेलिकमले तेस्रो नवीकरण बापतको एकमुष्ट रकम भुक्तानी गर्न नेपाल दूरसञ्चार प्राधिकरणको नाममा चेक काटेसँगै कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन्।

टेलिकमका कर्मचारीहरुले आफ्नो हकहितका लागि विभिन्न समयमा राख्दै आएको माग र टेलिकमले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने आश्वासन दिएसँगै आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको हो।

टेलिकमका चार संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको जानकारी गराएका छन्। विज्ञप्तिमा नयाँ लाइसेन्सका सम्बन्धमा सञ्चार मन्त्रालयले आवश्यक समन्वय एवं सहजिकरण गर्ने प्रतिबद्धता जाहेर गरेकाले आन्दोलन फिर्ता लिएको बताएका छन्।

‘निवृत्तिभरण कोष तथा अवकास कोषको व्यवस्था तथा भुक्तानी लगायत कर्मचारी सरोकारका केही विषयहरु सकारात्मक रुमपा अघि बढेका छन्। सञ्चालक समितिबाट निर्णय भई कार्यान्वयनको लागि सम्बन्धित निकायमा रहेका सावधिक जीवन बिमा, कर्मचारीको सामाजिक सुरक्षासँग सम्बन्धित करार, ज्यालादारी सेवा अवधि गणना लगायतका विषय शीघ्र कार्यान्वयनको लागि थप पहल गर्ने गरी कार्य अगाडि बढेको तथा साधारण सभाद्वारा स्वीकृत बोनसको निर्णय बोनस ऐन अनुरूप हुने गरी पुनरावलोकनको लागि सम्बन्धित निकायमा पठाइएको एवं कर्मचारी वृत्ति विकास र श्रम सरोकारका विषयहरूलाई व्यवस्थापनका तर्फबाट निष्कर्षमूलक ढङ्गले अगाडि बढाउने प्रतिबद्धता गरिनुलाई हामीले सकारात्मक रूपमा लिएका छौ,’ विज्ञप्तिमा भनिएको छ।

कर्मचारीको हक हितका लागि कम्पनीले प्रतिबद्धता जाहेर गरेसँगै धर्ना लगायत संघर्षका कार्यक्रमहरु हाललाई स्थगन गरिएको विज्ञप्तिमा लेखिएको छ।

यस्तो छ विज्ञप्ति

Sajilo Visa
easy care