हेलो सरकारमा ‘ब्लफ’ कलले दिक्क

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
हेलो सरकारमा ‘ब्लफ’ कलले दिक्क

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहत रहेको हेलो सरकारमा ठगीका उजुरी उच्च भएको पाइएको छ। हेलो सरकार भदौ १७ गतेदेखि चौबिसै घण्टा सञ्चालनमा आएपछि गरिएको विश्लेषणमा विभिन्न प्रकृतिका ठगीसँग सम्बन्धित उजुरी बढेका हुन्।

हाल हेलो सरकार बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा सञ्चालनमा छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका हेलो सरकार शाखा प्रमुख राजु खनालले व्यक्तिगत लेनदेनको ठगीदेखि सहकारी ठगीसम्मका उजुरीमा बढोत्तरी आएको जानकारी दिए। उनका अनुसार २०८० भदौदेखि २०८१ वैशाख दोस्रो सातासम्म कुल १३ हजार ८५१ प्राप्त गुनासोमध्ये ६ हजार ६११ वटा सम्बोधन भइसकेका छन्। त्यसरी प्राप्त अधिकांश गुनासो विभिन्न ठगीसँग सम्बन्धित भएको उनले बताए।

“हेलो सरकारमा ठगीसँग सम्बन्धित गुनासोका उजुरी बढ्दो छ । त्यसमा व्यक्तिगत लेनदेनसँग सम्बन्धित ठगी, वैदेशिक रोजगारीका नाममा म्यानपावर र दलालबाट हुने ठगी, सामाजिक सञ्जाल प्रयोगबाट हुने ठगी, बैङ्किङ कसुर तथा चेक बाउन्स ठगी र सहकारी सञ्चालक फरार भएर ठगेका गुनासा धेरै आएका छन्,” उनले भने, “त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्डले प्रदान गर्ने समकक्षता प्राप्त गर्न भएको कठिनाइ र घरमा बत्ती आउने जाने गरेको गुनासोसमेत उत्तिकै आउँछन् ।”

उपत्यकामा कोठा खोजिदिन्छु भनेर ठगी गरेकोसमेत उजुरी पछिल्लो समय बढेको उनले बताए। हेलो सरकार शाखाका प्रमुख खनालले छरछिमेकलाई सोधेर जानकारी लिन सकिने सामान्य जानकारीका लागि समेत सेवाग्राहीले फोन गर्ने गरेको बताए। उनले रिचार्ज कार्ड प्रयोग गर्ने तरीकादेखि राहदानी फाराम कसरी भर्नेसम्मका जानकारी लिन फोन आउने गरेको बताए।

“हेलो सरकारमा ब्लफ कल गरेर जिस्क्याउने प्रवृत्ति रोकिएन । फोन गरेर जिस्क्याउने, फोन होल्डमा राख्ने र रक्सी खाएर बोल्नेजस्ता छन्,” उनले भने, “दिउँसोको समयमा केटाकेटीले ब्लफ कल गर्ने गरे पनि राति प्रायः केटाले फोन गरेर दिक्क गराउँछन् ।” उनले हेलो सरकारमा फोनमार्फत आउने ४० प्रतिशत उजुरीमा ब्लफ कल हुने गरेको बताए।

“हेलो सरकारमा आउने उजुरी संवेदनशील रूपमा लिएर सम्बोधन गर्न सम्बन्धित ठाउँमा पठाउने गरेका छौँ । धेरै उजुरीको सम्बोधन भएको छ,” उनले भने, “अब अनावश्यक रूपमा ब्लफ कल गर्नेको रेकर्ड राखेर प्रहरीकहाँ पठाएर कारबाही गर्ने तयारी गरिएको छ। हेलो सरकारमा कार्यरत कर्मचारीलाई अनावश्यक उजुरी गरेर दिक्क लगाउने सेवाग्राही कानुनी भागिदार हुन सक्छन् ।”

उनले हाल हेलो सरकारमा दैनिक ६० कल आउने गरेको जानकारी दिए।

हेलो सरकार शाखाका अनुसार प्रहरीले सम्बोधन गर्नुपर्ने उजुरी ४० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणले सम्बोधन गर्नुपर्ने १९ प्रतिशत, राष्ट्रिय सूचना प्रविधिले १५ प्रतिशत, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित १४ प्रतिशत र सडक विभागसँग सम्बन्धित १२ प्रतिशत छन् ।

गत आर्थिक वर्ष कुल ११ हजार ९३२ उजुरीमध्ये पाँच हजार ८१२ अर्थात् ४८.८० प्रतिशत फस्र्याेट भएका छन् । अरू गुनासो सम्बोधनका क्रममा रहेकाले फस्र्याेट हुन बाँकी रहेका छन् । हेलो सरकारमा फोन,चिठी, ह्वाटसप, भाइबर, फेसबुकलगायत सामाजिक सञ्जालबाट उजुरी दिने व्यवस्था छ। गोरखापत्रबाट

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २४ बैशाख २०८१, सोमबार