Technology Khabar १८ बैशाख २०८१, मंगलवार
काठमाडौं ।
चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि (आईसिटी) क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै सूचना तथा संचार क्षेत्रमा झिनो सुधार हुने बताएको हो।
कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा कम्प्यूटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
यसैगरी आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत कायम गरिएको छ।
तथ्यांकले देखाएअनुसार आव २०८०/८१ मा सो क्षेत्रको कुल उत्पादनमा भने सुधार भएको देखिएको । सो आवमा संचार तथा सूचना प्रविधि क्षेत्रको कुल उत्पादन २ खर्ब ४५ अर्ब १० करोड २० लाख रुपैयाँ हाराहारी रहने प्रक्षेपण गरिएको छ। यस्तो रकम अघिल्लो आवमा २ खर्ब ३२अर्ब ८४ करोड ८० लाख रुपैयाँ बराबर रहेको कार्यालयले जानकारी दिएको छ।
यस्तै पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापतर्फ चार दशमलव १५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल कुल गार्हस्थ्य उत्पादन (Gross Domestic Product – GDP) मा संचार तथा सूचना प्रविधि क्षेत्रको योगदान घट्दै गएको देखिन्छ। जीडीपीमा यसले केबल १ दशमलब ९४ प्रतिशत मात्र योगदान गरेको जनाएको छ।
यसअघिको वर्षमा आईसिटी क्षेत्रको योगदान ०७९/८० मा १.९४ प्रतिशत रहेको थियो भने त्यस भन्दा अगाडिको वर्ष २०७८/७९ मा २.०७ प्रतिशत रहेको थियो।
तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ भने प्रति व्यक्ति आयमा सुधार हुँदै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४५६ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ।
प्रकाशित: १८ बैशाख २०८१, मंगलवार