
काठमाडौं ।
माइक्रोसफ्टले आगामी चार वर्षमा इन्डोनेसियामा क्लाउड सेवा र आर्टिफिसियल इन्टेलिजेन्स विस्तार गर्न डाटा सेन्टरहरू निर्माण गर्न १.७ बिलियन डलर लगानी गर्ने भ्रमणमा रहेका प्रमुख कार्यकारी सत्य नाडेलाले मंगलबार भनेका छन्।
अमेरिकी कम्पनीको जेनेरेटिभ एआई प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिणपूर्वी एसियाली देशहरूको यात्रामा जकार्ता नाडेलाको पहिलो बिसौनी हो। उनी यसै साता मलेसिया र थाइल्याण्ड समेत जानेछन्।
माइक्रोसफ्टको लगानीले “इन्डोनेसियामा नवीनतम र उत्कृष्ट एआई पूर्वाधार ल्याउनेछ,” नाडेलाले भने। “हामी आवश्यक पर्ने एआई पूर्वाधारको सन्दर्भमा यो लहरको नेतृत्व गर्नेछौं।”
नाडेलाले मंगलबार निवर्तमान राष्ट्रपति जोको विडोडो र उनका क्याबिनेट मन्त्रीहरूसँग संयुक्त एआई अनुसन्धान र प्रतिभा विकासको बारेमा छलफल गर्न भेटेको, सञ्चार मन्त्री बुदी एरी सेतियादीको भनाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
‘विडोडोले माइक्रोसफ्टलाई आफ्नो डाटा सेन्टरहरू बालीको रिसोर्ट टापु वा नयाँ राजधानी सहर नुसान्तारामा राख्न सुझाव दिए, जुन अझै पनि बोर्नियोको जंगलमा निर्माणाधीन छ,’ मन्त्रीले भने।
माइक्रोसफ्टले २०२५ सम्ममा दक्षिणपूर्व एशियाका २५ लाख मानिसहरूलाई एआई प्रयोगमा तालिम दिने नाडेलाले भनेका छन् जसमा इन्डोनेसियाका ८ लाख ४० हजार समावेश हुनेछन्।
माइक्रोसफ्टले जापानमा क्लाउड र एआई पूर्वाधारमा २.९ बिलियन लगानी र यूएईमा आधारित एआई फर्म जी४२ मा १.५ बिलियन लगानी सहित विश्वव्यापी रूपमा एआईको विकासको लागि आफ्नो समर्थन विस्तार गर्ने प्रयास गरिरहेको छ।
प्रकाशित: १८ बैशाख २०८१, मंगलवार