एनसीआईसीके भर्चुअल एक्स्पो २०२४ सुरु

Technology Khabar १४ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४’ सुरु भएको छ। ‘डिजिटल बजारमार्फत नेपाली उत्पादनको विश्वव्यापीकरण’ नाराका आयोजना गरिएको ‘एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४’ शुक्रबार काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन्।

एक्स्पोले देशव्यापी रुपमा मात्रै हैन विश्वव्यापी रुपमा पहिचान बनाएर देशको अर्थतन्त्रमा महत्वपूर्ण योग्दान पुग्ने मन्त्री शर्माले विश्वास व्यक्त गरिन्।

विगतमा देशको अर्थतन्त्रलाई विकास गर्नका लागि कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलाई जोड दिँदै आएकोमा पछिल्लो समय भने मूख्य रुपमा कृषि, पर्यटन, ऊर्जा र आईसीटी पनि भन्न थालिएको उनले बताइन्।
‘देशव्यापी र अन्तर्राष्ट्रिय रुपमा सूचना प्रविधिको तीव्र विकास भइरहेको छ। सूचना प्रविधिको विकास भएर यसबाट काम हुँदा यो आफै पारदर्शी हुन्छ,’ मन्त्री शर्माले भनिन्, ‘म्यानुअल तरिकाबाट गरेको काम डिजिटलाइजेसनबाट गर्दा धेरै प्रभावकारी हुन्छ।’

अहिले देशको अर्थतन्त्र कमजोर भइरहेको आवाज उठिरहँदा यसलाई सबलिकरण गर्न आईसीटी महत्वपूर्ण विधि हुने उनको भनाइ छ। त्यसैले सूचना प्रविधि क्षेत्रमा स्वदेशी तथा विदेशीको लगानी धेरै रहोस् भन्ने सरकारको चहान गरेको उनले स्पष्ट पारिन्।

वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा आईसीटीका २/३ परियोजना पनि प्रस्तुत गरिने उनले कार्यक्रममा बताइन्। उद्योग तथा व्यावसाय क्षेत्रलाई पारदर्शी बनाउन, स्थानीय सिप तथा उत्पादनलाई विश्वव्यापीकरण गर्न यस्ता कार्यक्रमले प्रवर्द्धन गर्ने मन्त्री शर्माको भनाइ छ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले साना तथा मौलिक उत्पादनलाई प्रविधिका माध्यमबाट आम उपभोक्ता माझ पस्कन भर्चुअल एक्स्पो आयोजना गरिएको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले डिजिटलाइजेसनको विकल्प नरहेको बताए।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले अनलाइनका नाममा घरघरमा व्यावसाय खुलेकाले यसलाई सरकारले उचित नियम बनाएर नियमन गर्नुपर्ने बताए।

भर्चुअल एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी स्टल रहेको आयोजकले जानकारी दिएका छन्।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया