Technology Khabar १५ बैशाख २०८१, शनिबार
काठमाडौं ।
क्वालकमले बिहीबार स्न्यापड्रागन एक्स लाइनअप अन्तर्गत स्न्यापड्रागन एक्स प्लस नामक नयाँ चिप प्रस्तुत गरेको छ। गत वर्षको अक्टोबरमा, क्वालकमले एप्पल सिलिकनसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राख्दै स्न्यापड्रागन एक्स एलिट चिप प्रस्तुत गरेको थियो।
यसको नामकरणले सुझाव दिए अनुसार, यो नयाँ चिप स्न्यापड्रागन एक्स एलिटको अधिक किफायती र थोरै कम सक्षम संस्करण भएको उल्लेख छ। त्यसैगरी यी दुबै चिपहरू सन् २०२४ को मध्यमा विन्डोज अन आर्म ल्यापटपहरू पावर गर्न उपलब्ध हुने अपेक्षा गरिएको छ।
स्न्यापड्रागन एक्स प्लस चिपमा क्वालकमद्वारा निर्मित कुल १० ओटा कस्टम ओरियन सीपीयू कोरहरू रहेका छन्। कम्पनीका अनुसार सीपीयूले आफ्ना “प्रतिस्पर्धीहरू” को तुलनामा ५४ प्रतिशत कम पावरको साथ ३७ प्रतिशत पर्फमेन्स इम्प्रुभमेन्ट (प्रदर्शन सुधार) गर्ने जनाइएको छ।
त्यसैगरी क्वालकमले चिपको सक्षम एनपीयू र अन–डिभाइस एआई–रिलेटेड टास्क (सम्बन्धित कार्य) हरूमा सम्भावित पर्फमेन्सको पक्षमा पनि जोड दिएको छ। साथै स्न्यापड्रागन एक्स सिरीज चिपहरू “ल्यापटपहरूको लागि संसारको सबैभन्दा तिब्र एनपीयू” ले सुसज्जित रहेको उल्लेख छ।
डेडिकेटेड क्वालकम हेक्सागन एनपीयूको क्षमता ४५ टीओपीएस (ट्रिलियन अपरेशन पर सेकेन्ड) मा मापन गरिएको छ, जसले विन्डोज पीसीहरूमा अभूतपूर्व पर्फमेन्स, इफिसियन्सी (दक्षता) र अन–डिभाइस एआई क्षमताहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।
यी सबै अन–डिभाइस एआई क्यापाबिलिटिज (क्षमताहरू) ले विकासकर्ताहरूलाई एपहरूमा विभिन्न प्रकारका नयाँ र रोमाञ्चक फिचर्स (सुविधाहरू) थप्नका लागि सक्षम बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: १५ बैशाख २०८१, शनिबार