
काठमाडौं ।
इलेक्ट्रिक कार कम्पनी टेस्लाको नाफा आधा भन्दा बढीले घटेको छ। यस वर्षको पहिलो तीन महिनामा १.१३ बिलियन अमेरिकी डलर नाफा आर्जन गरेको टेस्लाले बताएको बीबीसीले उल्लेख गरेको छ। गत वर्ष २०२३ को सोही अवधिमा टेस्लाको नाफा २.५१ बिलियन अमेरिकी डलर रहेको थियो।
गत वर्षको तुलनामा चालु वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा १.३८ बिलियन अमेरिकी डलर अर्थात ५४.९८ प्रतिशतले घटेको हो।
नाफा बढाउन टेस्ला हजारौं रोजगारी कटौतीको घोषणाका साथै नयाँ मोडल लन्च गर्ने बताएको छ।
अर्बपति इलन मस्कको स्वामित्वमा रहेको टेस्लाले टेक्सास र क्यालिफोर्निया स्थित आफ्ना साइटहरूमा ६ हजारभन्दा बढी रोजगारी हटाउने बताएको छ।
कम्पनी सस्तो चिनियाँ ईभीसँगको प्रतिस्पर्धाका कारण कमजोर बनिरहेको छ। २०२४ मा कम्पनीको सेयर मूल्य ४३ प्रतिशतले घटेको छ।
यस महिनाको सुरुमा कम्पनीले आफ्नो विश्वव्यापी कार्यबलको १० प्रतिशत रोजगारी कटौती गर्ने बताएको थियो।
२०२४ को पहिलो त्रैमासमा कम्पनीले २१.३ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। यो विश्लेषकहरुले अनुमान गरेको २२ बिलियन अमेरिकी डलरभन्दा केही कम हो।
कम्पनीले २०२५ को मध्यमा नयाँ मोडल ल्याउने निर्णयसँगै यसको सेयर मूल्यमा सकारात्मक प्रभाव पर्न थालेको छ।
यद्यपि ईभी निर्माताले नयाँ मोडलको मूल्य र विवरण खुलाएको छैन। सम्भवत टेस्लाले चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न किफायती मूल्यमा नयाँ मोडल लन्च गर्ने विश्वास गरिएको छ।
प्रकाशित: १२ बैशाख २०८१, बुधबार