नेपाली आईटी कम्पनीले विदेशमा शाखा खोल्न पाउने

  • Technology Khabar | ११ बैशाख २०८१, मंगलवार
नेपाली आईटी कम्पनीले विदेशमा शाखा खोल्न पाउने

काठमाडौं ।

नेपालमा सञ्चालनमा रहेको सूचना प्रविधि (आईटी) उद्योगले विदेशमा शाखा कार्यालय वा ईकाई खोल्न सक्ने भएका छन्।

सरकारले सोमबार लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत विद्युतीय (इलेक्ट्रोनिक) करोबार ऐन, २०६३ संशोधन प्रस्ताव स्वीकृत गर्दै आईटी उद्योगले विदेशमा शाखा कार्यालय वा ईकाई खोल्न सहजिकरण गर्न लागेको हो।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अध्यादेशमार्फत कार्यान्वयनमा आउनेछ।

इलेक्ट्रोनिक करोबार ऐनलाई संशोधित गरिएको ऐनमा लेखिएको छ, ‘नेपालमा स्थापित भएको सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम नेपालमा भित्र्याउने प्रयोजनका लागि विदेशमा शाखा कार्यालय वा इकाई खोली व्यापारिक कारोबार गर्न आवश्यक भई सम्बन्धित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले सो कुराको पुष्टाई गर्ने कागजात सहित निवेदन दिएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय त्यस्तो शाखा कार्यालय वा इकाई खोल्नका लागि अनुमति दिनेछ।’

साथै, सम्बन्धित व्यक्ति, फर्म, उद्योग वा कम्पनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले विदेशमा शाखा कार्यालय वा इकाई स्थापना र सञ्चालन गर्न आवश्यक विदेशी मुद्रा सटही गर्न एक पटकको लागि सुविधा प्रदान गर्न सक्नेछ।

यस्तै सरकारले अध्यादेशमार्फत कम्प्युटर नेटवर्क वा कम्प्युटर प्रणालीमा प्रयोग हुने सफ्टवेयर, हार्डवेयर तथा कम्प्युटर र सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा सेवा आयातमा सहजीकरण गरेको छ।

संशोधित ऐनमा लेखिएको छ, ‘कम्प्युटर नेटवर्क वा कम्प्युटर प्रणालीमा प्रयोग हुने कुनै सफ्टवेयर, हार्डवेयर वा कम्प्युटर वा सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा सेवा विदेशबाट आयात गर्दा विदेशी मुद्रामा रकम भुक्तानी गर्नुपर्ने भई सम्बन्धित लगानीकर्ताले त्यस्ता सामग्री वा सेवा नेपालमा भित्र्याउन विदेशी मुद्रा सटही सुविधा माग गरे सूचना प्रविधि विभागले प्रचलित कानुन बमोजिम विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंकमा सिफारिस गर्नुपर्ने छ।’

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...