Technology Khabar ३० चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
निसीखोला वडा नं ५ चिहानडाँडामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्याएको छ। मोवाईल सेवा नहुँदा प्रभावित बनेका त्यस क्षेत्रका बासिन्दा एक साथ टुजी र फोरजी सेवा सञ्चालनमा आए सँगै मोवाईल सेवा उपभोग गर्न पाएका छन्।
यसअघि टाढाको टावरको कमजोर सिग्नलमा भर पर्नुपर्ने, डाँडामा मात्र नेटवर्क सिग्नल आउने घरभित्र सिग्नल नआउने हुँदा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित रहेकै थिए।
भ्वाईससँगै इन्टरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन। नेपाल टेलिकमले चिहानडाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर सेवा सुचारु गरेपछि मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रु सहित निसीखोला गाउँपालिका वडा नं ५ को निसी गाउँ, वडा नं ६ को भल्कोट, रिनुबाङ र छुनखोलाका झण्डै २ हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए। शर्माले दुर्गम भेगलाई लक्षित गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र रुपमा अगाडी बढाईएको बताए।
दुर्गम तथा विकट गाउँमा जीएसएम मोबाइल उपलब्ध गराई नागरिकलाई सञ्चार सेवामा जोडन टेलिकमसँग आवश्यक समन्वय र टावर निर्माणमा सहयोग गरिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीले बताए।
भौगोलिक विकटता र विभिन्न चुनौतिका बाबजुत टावर स्थापना गरी मोवाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका बागलुङका प्रमुख सन्तोष बरालले जानकारी दिए। यो सँगै उक्त क्षेत्रमा टुजीसहित चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आएको उनले बताए।
प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने ग्रामीण क्षेत्रका विकट बस्तिहरुमासमेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति अनुरुप सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।
टावरसम्म विद्युत सेवा पुराउन स्थानियले सहयोग गरेका थिए भने नेपाल विद्युत प्राधिकरणले १५ वटा फलामका उपलब्ध गराएको थियो।
प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार