भ्रामक सूचनाको प्रलोभनमा नपर्नका लागि साइबर ब्यूरोको अनुरोध

Technology Khabar २१ चैत्र २०८०, बुधबार

भ्रामक सूचनाको प्रलोभनमा नपर्नका लागि साइबर ब्यूरोको अनुरोध
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल मार्फत हुने भ्रामक सूचनाको प्रलोभनमा नपर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

सामाजिक सञ्जाल मार्फत आर्थिक ठगी गर्ने कार्य बढी रहेको बुधबार साइबर ब्यूरोले सूचना जारी गर्दै भ्रामक सूचनामा नपर्न आग्रह गरेको हो।

सामाजिक सञ्जाल (फेसबुक)का पेजहरूबाट अनलाइन डाटा इन्ट्री गर्ने कार्य प्रदान गर्ने, आईईएलटीएस/पीटीई परीक्षा तयारी कक्षा निःशुल्क प्रदान गर्ने र सेयर कारोबार विश्लेषण तालिम निःशुल्क प्रदान गर्ने भन्ने जस्ता विभिन्न प्रलोभन देखाई पठाएको लिङ्कबाट सफ्टवेयर डाउनलोड गरी इन्स्टल नगर्न प्रहरीले अनुरोध गरेको छ।

र उक्त सफ्टवेयर इन्स्टल गरे पश्चात सम्बन्धित उपकरण (ल्यापटप, डेस्कटप वा मोबाइल) लाई पूर्ण रूपमा नियन्त्रणमा लिई सम्पूर्ण गतिविधि अनुगमन गर्ने लगायत प्रयोगमा रहेका ई–वालेट, बैङ्क तथा वित्तिय संस्थाहरूका एप र कनेक्ट आईपीएस जस्ता प्रणालीका युजरनेम / पासवर्ड ह्याक गरी आर्थिक ठगी गर्ने कार्य बढ्दो क्रममा छ। आम जनमानसमा यस्ता भ्रामक सूचनाको प्रलोभनमा नपर्नू हुन साथै यस्ता पेजहरूबाट प्राप्त लिङ्कलाई क्लिक  नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ।

प्रकाशित: २१ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया