Technology Khabar १२ चैत्र २०८०, सोमबार
काठमाडौं ।
झापाको कनकाई नगरपालिकामा डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जाडन कार्यको सुरुवात गरिएको छ। नगरपालिकामा चैत ११ गतेदेखि डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जडान कार्यको सुरुवात भएको हो।
नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले एक समारोहबिच नेपालमै पहिलोपटक पालिकास्तरमा यस्तो सेवाको सुरुवात गरेका हुन्।
एक महिना अघि परीक्षणको रुपमा शुरु भएको “कताहो’’ नामक एप मार्फत तयार गर्न सकिने तथा एलमुनियम पातामा मेशिनमार्फत खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेटमा घरधनीको नाम, २ शब्द र अंकको कताहो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ भने नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड समेत यस प्लेटमा रहेको छ।
त्यसको साथै प्लेटमा रहेको क्यु आर कोड मार्फत घरधनीको मोबाइलमा घन्टी बजाउने सुविधा सहितको यस प्रकारको प्रणालीको विकाश नेपालमा लामो समय प्रविधि अनुसन्धानमा बिताएका जुम्ल्याहा अनुसन्धानकर्ताहरु रामलक्ष्मण संलग्न रहेको एड्रेसग्राफ नेपाल प्रालिले तयार गरेको हो।
उक्त अवसरमा नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरको वडा नम्बर ७, दुर्गापुर स्थित सामुदायिक भवनमा एक संक्षिप्त कार्यक्रमका बिच प्लेट जडान गरी ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको सुरुवात गरेका हुन्।
मेयर पोखरेलले नेपालमै तयार पारिएको अत्याधुनिक ठेगाना प्रणाली नेपालमै पालिकास्तरमा शुरुवात गर्न पाउँदा खुसी लागेको बताए। स्वदेशी प्रविधिलाई पालिकाहरुले आ-आफ्ना स्तरबाट प्रबर्द्धन गर्नुपर्ने विचार गरे। डिजिटल ठेगाना प्रणालीको प्लेट तयार गर्न तथा त्यसलाई प्रयोग गर्नको लागि निकै कम समयमा कार्य गर्न सकेकोमा प्रविधि विकासकर्ताहरुलाई धन्यबाद दिँदै नेपालका शहरका लागि मात्र नभइ विकट स्थानको लागि समेत यो प्रविधि उत्तिकै उपयोगी रहनेमा आफू विश्वस्त रहेको उनले बताए।
कार्यक्रममा “कताहो’’ प्रणालीका प्रविधि अनुसन्धानकर्ता राम प्रसाद रिमालले ५ वर्ष लामो अनुसन्धानपश्चात विकास भएको यो प्रणाली मार्फत नेपालभर जो सुकैले पनि मिनेटभरमा डिजिटल ठेगाना प्लेट तयार गर्न सक्ने र पालिकाहरुले यसको लागि समन्वय गर्न सकेमा ठेगाना प्रदान गर्नका लागि सरकारको ठूलो धनराशी बचत हुन सक्ने उनको भनाइ छ।
यस प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्न सकिने भएको छ। यो प्रणालीलाई नक्शा नभएर जुनसुकै नक्शामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको कम्पनीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले जानकारी दिए।
रिमालकोअनुसार यो प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो।
कनकाई नगरपालिकाले नगरलाई डिजिटल प्रविधि मैत्री नगर बनाउने अभियान अन्तर्गत कार्यपालिका कार्यलयलाई डिजिटल मैत्री बनाई सकेको छ, अब कनकाईका हरेक घरलाई डिजिटल प्रणालीमा जोड्ने अभियान सुरु भएको नगर प्रमुख पोखरेलले बताए।
‘कता हो’ प्रणाली सुरुवात कार्यक्रममा नगर प्रमुख पोखरेलले भने १२ वर्ष अघि फ्रान्स भ्रमणमा गएको वेला गाडीमा चढेपछि आफू पुग्ने घर सम्म पुग्न डिजिटल प्रणालीले बाटो देखाएको थियो, उक्त समय यो प्रविधि देख्दा म अचम्म परेको थिएँ। आज त्यही प्रविधि, प्रणाली आफ्नै नगरमा सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।’
घर घरमा डिजिटल नम्बर प्लेट टाँस गर्न एउटा प्लेट वापत ६ सय रुपैयाँ खर्च आएको बताइएको छ। तर नगरपालिकाले नागरिकको थोरै भएपनि साझेदारीमा प्रविधि प्रयोगको महत्व र आवश्यकता सँगै अपनत्व बोध गराउन १ सय रुपैयाँ मात्र लिने अरु खर्च नगरपालिकाले व्यहोर्ने बताइएको छ।
प्रकाशित: १२ चैत्र २०८०, सोमबार