Technology Khabar १० चैत्र २०८०, शनिबार
काठमाडौं ।
सूचना प्रविधिको क्षेत्रमा कार्यरत प्रमुख संस्थाहरुले सरकारले सार्वजनिक गरेको “सूचना प्रविधि तथा साइबर सुरक्षा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” को मस्यौदामा सरोकारबालाहरुको सहभागीता बढाउनुपर्ने माग गरेका छन्।
सरोकारवाला संगठनहरूको समूहले नेपालको सूचना प्रविधि तथा साइबर सुरक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले “सूचना प्रविधि तथा साइबर सुरक्षा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” को मस्यौदामा विज्ञ तहबाट समग्र विश्लेषण तथा छलफल गराउन भन्दै थप समय माग गरेको छ।
मन्त्रालयले हाल सो मस्यौदामा १५ दिनको समय तोकेर सुझाब माग गरेको छ।
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) का अध्यक्ष समीत जन थिंङ, इन्टरनेट गभर्नेन्स इन्स्टीच्यूट (आइजीआई) का प्रमुख कार्यकारी अधिकृत बाबुराम अर्याल, इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) का प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठ, नेपाल इन्टरनेट फाउण्डेशन (एनआईएफ) का अध्यक्ष विक्रम श्रेष्ठ, नेपाल डिजिटल लिड्सका अध्यक्ष आनन्दराज खनाल, नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) का अध्यक्ष लोचन अमात्यले संयुक्तरुपमा सरकारलाई पत्र पठाई सो मस्यौदा उपर सुझाब र छलफलका लागि थप समय उपलब्ध गराउन आव्हान गरेका हुन्।
“यस विधेयकका व्यवस्थाले हामीहरु लगायतका पक्षहरुसँग सारभूत सरोकार राख्दछ। यस विधेयकको व्यवस्थाहरुमा गहराईमा गई यस कानुनको प्रभावको सन्दर्भमा विज्ञ तहबाट विश्लेषण गरी सरोकारवालाहरुसँग थप छलफल पश्चात समग्र सुझाव पेश गर्न हामी सरोकारवालाहरुको तयारी भइराखेको जानकारी गराउन चाहन्छौं । तर, मन्त्रालयले मस्यौदा उपर सुझाव पेश गर्न तोकिएको समय समग्र विश्लेषण तथा छलफलको लागि अत्यन्त न्यून भएको कारण कम्तीमा पनि थप तिस (३०) दिनको अवधि थप गरीदिनुहुन सादर अनुरोध छ,” उक्त पत्रमा भनिएको छ।
साथै, सरोकारवालाहरुको सुझाव पश्चात बहुसरोकारवालाहरुसँग छलफल गरी प्रस्तावित विधेयकलाई अन्तिम रुप दिनु उचित हुने बताईएको छ।
सूचना प्रविधि तथा साइबर सुरक्षा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक - Google Docsप्रकाशित: १० चैत्र २०८०, शनिबार