
काठमाडौं ।
नेपाल टेलिकमका स्थायी कर्मचारी इन्जिनियर निर्मल प्रसाद सिटौलाका विरुद्ध एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा बिगो कायम गरी गैरकानूनी आर्जन गरेकोमा भ्रष्ट्राचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको भन्दै ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेकोमा सम्पत्तिसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत आरोपपत्र दायर गरेको छ।
अख्तियारकाअनुसार उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडङ्ग एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा मा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र सुर्यबिनायक धुलिखेल सिन्धुली बर्दिबास सडक परियोजनामा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो।
सो सम्बन्धमा अनुसन्धान हुँदा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१(३) र हाल प्रचलित कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत नेपाल टेलिकमको विना स्वीकृति निजी कम्पनी हिमडङ्ग एण्ड थोकर कन्स्ट्रक्सन कम्पनी प्रालिको शेयर खरिद गरी संस्थापक शेयरधनी रहेको उल्लेख छ।
यसैगरी कम्पनीमा निर्देशकको हैसियतमा आ.व.२०६९।०७० देखि काम गरिरहेको, परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टासमेतमा सामेल भई कम्पनीबाट ४५ लाख १७ हजार ५०० रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय १ करोड १६ लाख २ हजार ५०४रुपैयाँ ३० पैसा समेत गरी जम्मा एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको अख्तियारको ठहर छ।
प्रकाशित: ४ चैत्र २०८०, आईतवार