अन्वेषण प्रदर्शनी प्रतियोगितामा काठमाडौँका ३७ सामुदायिक विद्यालय सहभागी

  • Technology Khabar | २३ फाल्गुन २०८०, बुधबार
अन्वेषण प्रदर्शनी प्रतियोगितामा काठमाडौँका ३७ सामुदायिक विद्यालय सहभागी

काठमाडौं ।

काठमाडौँका सामुदायिक विद्यालयहरु बिच अनुसन्धान तथा अन्वेषणमूलक प्रतिस्पर्धा सम्पन्न भएको छ। राष्ट्रिय सभा गृहमा अनुसन्धान, स्टीम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लब) प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको हो।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले मंगलबार सामुदायिक विद्यालयहरुमा गएको बर्षभित्र गठन भएका स्टीम क्लबका विद्यार्थीहरु विच अनुसन्धान तथा अन्वेषणमूलक प्रतिस्पर्धा गराएको हो। गएको शैक्षिक सत्रमा क्लब गठन भएका ४० विद्यालयमध्ये ३७ ओटाले प्रतियोगितामा भाग लिएका थिए।

प्रतियोगिताबाट भक्त विद्याश्रम माध्यमिक विद्यालय (सहरी व्यवस्थापनका लागि स्मार्ट प्रविधि) ले प्रथम स्थान हासिल गर्यो। यस्तै पञ्चकन्या मावि (पेरिस्कोप), ले दोस्रो, शिवपुरी मावि (फोहोरको दिगो व्यवस्थापन प्रणाली) ले तेस्रो र सरस्वती निकेतन मावि (वातावरणमैत्री भविष्य) ले सान्त्वना स्थान प्राप्त गरे।

यी विजेता विद्यालयहरुलाई महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राशीसहितको प्रमाण पत्र प्रदान गरिन। प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३० हजार रुपैयाँ प्रदान गरिएको थियो। यसैगरी दोस्रोलाई २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

चालु शैक्षिक सत्रमा ८१ ओटा विद्यालयमा क्लव गठन गरेको महानगरले जानकारी दिएको छ। अर्को वर्ष सबै विद्यालयका बिच सिर्जनात्मक प्रतिस्पर्धा आयोजना गर्ने बताईएको छ।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...