पोलिग्राफ प्रविधिबाट प्रहरीलाई विभिन्न अनुसन्धानहरूमा महत्वपूर्ण टेवा

Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार

पोलिग्राफ प्रविधिबाट प्रहरीलाई विभिन्न अनुसन्धानहरूमा महत्वपूर्ण टेवा
सांकेतिक तस्विर

काठमाडौं ।

काठमाडौं बबरमहल बस्ने पूर्व राजदूत केशवराज झाको २०७५ भदौ ६ गते हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा शंकित व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएको थियो। यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गत असोज २३ गते गोली हानेर हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न व्यक्तिको पोलिग्राफ परीक्षण गरिएको थियो।

त्यसैगरी काठमाडौंको रानीबारीस्थित ईन्जिनियर दम्पत्ती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा शंकित व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरियो । यी परीक्षणले घटनाको अनुसन्धानमा निकै महत्वपूर्ण सहयोग पुर्‍याएको थियो ।

उपरोक्त ३ वटा घटनाका शंकित व्यक्तिहरूमा गरिएको पोलिग्राफ परीक्षण त प्रतिनिधि मात्र हो। नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म १० वर्षको अवधिमा जम्मा २ हजार ७७८ मुद्दाका ५ हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ।

तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा २२५ जना, आर्थिक वर्ष २०७१/०७२ मा ४६८ जना, आर्थिक वर्ष २०७२/०७३ मा ३९१ जना, आर्थिक वर्ष २०७३/०७४ मा ५४३ जना, आर्थिक वर्ष २०७४/०७५ मा ५८५ जना, आर्थिक वर्ष २०७५/०७६ मा ५८८ जना, आर्थिक वर्ष २०७६/०७७ मा ८५९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ६०५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ३८१ जना, आर्थिक वर्ष २०७९/०८० मा ४८२ जना र चालु आर्थिक वर्षमा २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका २४१ जना, पूर्व प्रहरी कर्मचारी ६ जना, नेपाली सेनाका ४० जना, राष्ट्रिय अनुसन्धान विभागका ५ जना र सशस्त्र प्रहरी बलका २९ जना गरी जम्मा ३२१ जना रहेका छन्।

व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ हो। यसलाई बैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ। पोलिग्राफ आधुनिक विधिविज्ञानको सबैभन्दा पुरानो प्रविधि मध्ये एक हो।

नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धान लगायत अन्य विभिन्न अनुसन्धानहरूमा महत्वपूर्ण टेवा पुगेको छ। हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणहरूले अनुसन्धानलाई निर्देशित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ । यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ । साथै समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कन समेत गर्ने गरिएको छ।”

पोलिग्राफ प्रि-टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी ३ चरणमा परीक्षण गरिन्छ । पोलिग्राफ परीक्षण संचालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था छ । शंकित व्यक्तिले झुठ बोले/नबोलेको परीक्षणले संकेत गर्दछ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा १४३ वटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २६३ पुरूष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको संकेत १०६ जना, झुठ नबोलेको संकेत १७० जना, राय दिन नसकेको अवस्था २ जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत १ जनामा देखिएको छ ।

घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्याक्ति वा शंकित वा पीडित वा साक्षीहरूले बोलेको कुराहरूको सत्यता परीक्षण गर्नको लागि पोलिग्राफको प्रयोग गरिन्छ । पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणहरूको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुराहरू पहिचान गर्न सकिन्छ ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “आउँदा दिनहरूमा पोलिग्राफको प्रयोग क्षेत्रलाई अझ फराकिलो बनाउँदै लगिने छ । त्यसका लागि साधनस्रोत र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिइएको छ ।”

हाल केन्द्रीय पोलिग्राफ मातहत रही अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा पोलिग्राफ परीक्षण हुँदै आएको छ ।

पोलिग्राफ परीक्षण सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नविन राज राई भन्छन, “पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता अनूरूप परीक्षण गर्ने गरिएको छ । कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ।”

प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया