गुगल पिक्सेल फोनहरूमा छिटै स्याटेलाइट एसओएस फिचर उपलब्ध हुनसक्ने

Technology Khabar २१ फाल्गुन २०८०, सोमबार

काठमाडौं ।

स्याटेलाइट कनेक्टिभिटी पहिले नै आईफोनमा एक महत्वपूर्ण सेफ्टि फिचरको रुपमा साबित भइसकेको छ। अब एन्ड्रोइड फोनहरूले पनि उक्त फिचरलाई पछ्याउने तयारीमा रहेका छन्।

गुगल पिक्सेल डिभाइसहरूले आगामी “स्याटेलाइट एसओएस” फिचर (सुविधा) समावेश गर्ने संकेतहरू देखाएको जनाइएको छ, जसले प्रयोगकर्ताहरूलाई सेलुलर वा वाईफाई सिग्नल्स बिना नै आपतकालीन सेवाहरूसँग कनेक्ट गर्न अनुमति दिनेछ।

यद्यपि यो सुविधा अझै पूर्णरूपमा सञ्चालनमा नभएतापनि पिक्सेल फोन प्रयोगकर्ताहरूले यस अघिदेखि नै “सेफ्टि एण्ड इमरजेन्सी” (सुरक्षा र आपतकालीन) सेटिङ्स सेक्सन भित्र “स्याटेलाइट एसओएस” अप्सन (विकल्प) भेट्टाउन सक्ने उल्लेख गरिएको छ। साथै ९टू५गुगलको रिपोर्टअनुसार रुटेड पिक्सेल फोनमा गरेको अनुसन्धानमा स्याटेलाइट एसओएसले कसरी काम गर्छ भनेर विस्तृत मेनुको खुलासा गरेको छ।

स्याटेलाइट एसओएस पेज (पृष्ठ) ले “तपाईंको पिक्सेल मार्फत, तपाईंले मोबाइल वा वाईफाई नेटवर्कमा कनेक्ट (जडान) गर्न नसक्दा आपतकालीन सेवाहरूमा सन्देश पठाउन र आफ्नो स्थान साझा गर्न सक्नुहुन्छ” भन्ने बताएको उल्लेख गरिएको छ।

परम्परागत सिग्नलहरू उपलब्ध नहुँदा प्रयोगकर्ताहरूलाई आपतकालीन सेवाहरूमा सन्देशहरू पठाउन र गुगल म्याप्समार्फत आफ्नो स्थान साझा गर्न अनुमति दिनु नै पिक्सेलको स्याटेलाइट एसओएसको लागी गुगलको योजना भएको जनाइएको छ। साथै यस फिचरमार्फत प्रयोगकर्ताहरूले आपतकालीन अवस्थाको बारेमा विवरणहरू पनि प्रदान गर्ने क्षमताको सम्भावनाको बारेमा थप उल्लेख छ।

यस सेवाले काम गर्नको लागि, गुगलले प्रयोगकर्ताको नाम, उनीहरूको गुगल खाताबाट फोन नम्बर र तीनवटा आपतकालीन सम्पर्कहरू जस्ता व्यक्तिगत डाटा सङ्कलन गर्न आवश्यक रहेको छ।

त्यसका साथै, प्रयोगकर्ताको स्थान, डिभाइसको विवरणहरू र आपतकालिन बारे विवरणहरू सहितको जानकारी दुवै आपतकालीन प्रतिक्रियाकर्ताहरू र उपग्रह सेवा प्रदायकहरूसँग साझेदारी गरिनेछ।

यद्यपि गुगलले स्याटेलाइट एसओएस उपलब्ध हुने देशहरूको सूची भने जारी गरेको छैन। साथै गार्मिन सर्च र रेस्क्यु इन्सुरेन्स (उद्धार बीमा) योजनाको लिङ्कले गार्मिन सेवामा संलग्न हुन सक्ने सुझाव दिएको छ।

गुगलले स्याटेलाइट एसओएसलाई पूर्ण रूपमा परिचालन सुविधाको रूपमा कहिले रोल आउट गर्नेछ भन्ने सही समयरेखाको बारेमा स्पष्टता छैन्।

प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया