Technology Khabar १६ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन दुई सामाजिक सञ्जाल प्लेटफर्म मात्र आएका छन्। व्यापार र रोजगार केन्द्रित लिंक्डइन र मेसेजिङ प्लेटफर्म राकुटेन भाइबरले सूचीकरणका लागि निवेदन दिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले फागुन १५ गतेसम्म नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकरण हुन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो।
‘तोकिएको समयसीमा भित्र दुई सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिएका छन्,’ मन्त्रालयका ईन्जियिनर शरोज पोखरेलले टेक्नोलोजीखबरसँग भने, ‘उनीहरुको निवेदन अध्ययन गरेर केही दिन भित्रमा निर्णय लिनेछौं।’
नेपाल सरकार मन्त्रिपरिषद्को २०८० कात्तिक २३ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ स्वीकृति गरिएको थियो। उक्त निर्देशिकाअनुसार नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनु पर्ने प्रावधान छ।
यसका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले आफैँ वा आफ्नो प्रतिनिधि मार्फत सामाजिक सञ्जाल नियमन इकाईको तोकिएको ई-मेलमा पठाएर निवेदन दिएर सूचीकृत हुन सक्नेछन्।
यस्तै सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्ने प्रयोजनका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था गर्नुपर्नेछ। साथै, निर्देशिका प्रारम्भ हुँदाका बखत नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क विन्दु तोक्नुपर्ने भनिएको छ।
तोकिएको समय सीमाभित्र सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने निर्देशिकामा उल्लेख छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले तोकिएको समयसीमा भित्र सूचीकृत हुन निवेदन नदिने सामाजिक सञ्जाल प्लेटफर्मलाई सरकारको आदेशको अवज्ञा गरेको कसूरमा पनि कारबाही अघि बढाउन सकिने बताए।
मेसेजिङ तथा सामाजिक सञ्जाल एप स्न्यापच्याटले नेपालमा सूचीकृत हुन चासो व्यक्त गरे पनि मन्त्रालयले तोकेको समयसीमा भित्रमा भने आवेदन दिएको छ। यस्तै नेपालमा अधिक प्रयोग हुने सामाजिक सञ्जालहरु फेबसुक, ह्वाट्सएप, यूट्यूब, इन्स्टाग्राम, टेलिग्राम लगायतले पनि सूचीकरणका लागि निवेदन दिएका छैनन्।
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार